बालकृष्ण समले भनेका थिए– ‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि ।’ यो देशको एकीकरण कसले गरेको होला, कसैलाई सम्झनै नपर्ने ?
के हामी आकाशबाट झरेका हौँ ? हाम्रो वीर पुर्खा छैन ? कहाँ छ हाम्रो इतिहास ? कति थियो हाम्रो सिमाना, अहिले पनि सिमाना मिचिएको छैन र ? दिव्योपदेशको किन चर्चा नै हुन्न, त्यहाँ घरेलु, कुटीर उद्योग अनि विदेशीलाई गर्नु पर्ने व्यवहार छैन ?
के अहिले जस्तो विदेशीको शरणमा रहनु पर्ने भनिएको थियो र ? हो, अहिले मुलुकको राष्ट्रियता कमजोर भएको छ । सुगौलीको सन्धिपछि कायम भएको मेची महाकाली भूगोल हामीले दरिलो र भरिलो बनाउनु पर्ने हो, तर राजनीतिक रडाको छ, देशलाई चिरा चिरा पारिएको छ, भागबण्डा गरिएको छ ।
यति सानो देशमा राजनीतिक संयन्त्रहरु अनगिन्ती छन्, नेपालीहरु लाखौँ विदेशमा भाँडा माझ्दै छन्, एउटै भवनमा ५/५ वटा मन्त्रालयहरुको साइनबोर्ड राखेर के जात्रा देखाएको हो, राजनीतिक व्यक्तिहरु देशबाहिर गएर बाहिरकालाई भित्र ल्याउनु पर्ने बेला भएन र ?
कसको लागि राजनीति गरिएको हो, के यसअघि कसैले यो देश चिनेकै थिएन र ? श्री ३ हरुको १०३ को शासन त ढल्यो भनेपछि अहिलेको जर्जर अबस्थाबाट देशले त्राण नपाउने, विदेशीको झोला कति दिन हेर्ने, स्वदेशी उत्पादन खोइ ?
सीमा विवादको प्रसंग खुलेर बाहिर आएको छ । भाइचाराको सम्बन्ध दक्षिण हाम्रो मितेरी साइनो मजबुत हुनु पर्छ । सुगौली सन्धिपछि मुलुकमा भक्तिधाराको प्रवाह बढेको हो ।
भानुभक्तले रामायणलाई त्यतिकै लोकभाषामा उजागर गरेका होइनन् । राष्ट्रियताको मियो राजनीतिमै हुन्छ । केही दशक यतादेखि राजनीति रंगकर्मीहरुको थलो बनेको छ । भारतीय जमीन खासगरी दिल्ली सानोतिनो झरीमा पनि दिल्लीको छाता नओढी सुख छैन ।
चालु नयाँ राजनीतिक परिवेशको सूत्रपात बाह्रबुँदे सम्झौता दिल्लीमै भएको थियो । नेताहरुले उतै पढे, उतै हुर्के, उतै साथीभाइ बनाए । खानपिन, बस्उठ्, रहनसहन उतैतिर सिकियो ।
यताबाट निर्वासित हुँदा होस् वा स्वतन्त्र जीवनयापन गर्दा होस्, भाषा संस्कृतिले डोर्याएर होस् सामाजिक परिवेश विहावारी, लेनदेन, आर्थिक लेनदेन बजार विविधीकरण या भनौं धार्मिक, सांस्कृतिक परिवेशले नेपाल–भारतको सम्बन्ध पुरानै युगदेखि प्रगाढ रहिआएको छ ।
उत्तरतिर भृकुटीको नामले दक्षिणतिर सीताको नामले पनि धार्मिक, अध्यात्मिक क्षेत्र, नारायणी, विश्वनाथ होस् या पशुपतिनाथ, चारैधाम होस् या द्वादश ज्योति लिंग, पिण्ड पानीदेखि मूंक्ति क्षेत्रसम्म जनकपुर होस् या अयोध्या नेता वी.पी, जी.पी., वाजपेयी ।
गान्धी, नेहरु पुराना नयाँ पुस्तादेखि मोदी युगसम्म नेपाल भारतका सम्बन्ध चिसो तातो हुँदै गर्मी, ठण्डा हुँदै, अध्ययन, अवलोकन, आरोह, अवरोहहुँदै लामो इतिहासदेखि हालसम्मको धरातलमा आइपुगेको छ ।
पटक पटकको सीमा विवाद, आर्थिक नाकाबन्दी कुनैबेला भात भान्सा बन्द स्वासप्रस्वास रोकिँदा पनि अबोध बालकझै निरीहझै बस्यौँ, हामी भक्ति र भजन गर्दै । अधिकांश हाम्रो अर्थ बजार आयात निर्यात भारतीय भूमिको विकल्प छैन आजसम्म ।
मजासँग चल्दै आएको तातोपानी व्यापार नाका लामो समयदेखि बन्द छ । काठमाडौँ केरुंग बाटो साह्रै असजिलो छ । कसरी हो कुन्नी हाम्रा बीर बहादुर शाहले केरुंग कुतीसम्म व्यापार सहज बनाए ?
भूपरिवेष्ठित भूमिको कारण मात्र राष्ट्रियता कमजोर भएको भन्ने पक्कै होइन । राष्ट्रियता भन्नु भूगोल मात्रै होइन । मुटु पनि हो । आयातित सामान र तिनबाट हामीले विकासको मूल फुटाउने इच्छा गरेका छौं ।
मुलुको राष्ट्रियतारुपी गाडी बलियो हुन आफ्नै धर्म, संस्कृति, भाषा र भूमिरुपी चार पाङ्ग्रा हुन जरुरी छ । भूमिको कुरामाथि भयो । भूमिमा पनि कहिल्यै टनकपुर र महाकाली सन्धिको कुरा छ, कहिले चाँदनी दोधाराको, कहिले लिपुलेकको, कहिले कोशी सम्झौताको, कहिले त्रिवेणी–सुस्ताको, कहिले मेचीपुल वरिपरिको सीमानाको । विश्वकै एकमात्र हिन्दु राष्ट्रको नाम झिकिसक्यौँ हामीले ।
पावन पशुपतिनाथको एकमात्र भूमि नेपालमा मौलिक धर्म, हिन्दु त्यो अब रहेन । विश्वको आँखा यता तान्न सकिन्थ्यो, मुलुक नेपालभन्दा नेपाल र नेपालीको मुहार सगरमाथाको शीरझैं उचो हुन्थ्यो यसमा हाम्रो गहिरो ध्यान गएन ।
मुलुक बहुआयामिक संस्कृतिको धनी छ । तर मुलुकभित्रको संस्कृतिमा अब धमिरा लाग्न सुरु भएको छ । सबै संस्कृतिलाई धेरै पूmलहरु मिलाएर एउटै धागोमा बाँधेर माला बनाएझै रंगीन, हराभरा बनाएझैं एक सुत्रमा आबद्ध थियो पहिले ।
अब एक अर्काप्रति अविश्वासको संस्कृति हुर्केको छ । विदेशी सस्कृतिले बढी प्रश्रय पाउन थालेको छ । बत्ति बालेर पूजा गर्नुको सट्टा बत्ति निभाएर जन्मोत्सव मान्ने उल्टो संस्कृति भित्रेको छ । खानपिन, रहनसहन, लवाई, भाषा, भेषभुषा सबै विदेशी संस्कृतिमय बनेको छ ।
कुनै बेला यस्तो संस्कृतिको सबैलाई उराठ लाग्न सक्छ, समयमै बुद्धि नपुर्याए । बैबाहिक जोडीको संस्कृतिभन्दा पारपारचुकेको संस्कृति भित्रिरहेको छ । विदेशीहरुले यहाँको मौलिक संस्कृतिलाई लोप गराई राष्ट्रियतामाथि धावा बोलिरहेका छन् । नजानिदो रुपमा भन्नुपर्दा मन्द विष खुवाइरहेका छन् ।
लैगिंक र जातीय असमानतालाई हटाइनुपर्छ । भौगोलिक विकटता र आर्थिक असमानतालाई हटाइनुपर्छ । राष्ट्रिय हित, राष्ट्रिय स्वार्थभन्दा कोही ठूलो हुन सक्तैन । हाल गणतन्त्र नेपालले धेरै विषयमा फड्को मारेको छ ।
मुलुकको संरचना संघीय प्रणालीमा छ । तर यो प्रणाली बहुत खर्चिलो छ । विश्वका कम मुलुकमा मात्र यस्तो शासन पद्धतिले पश्रय पाएको छ । जनतालाई सार्वभौम गराउनु पर्छ तर बोलीले मात्रै होइन यो व्यवहारले पनि हुनुपर्छ ।
मौलिक अधिकारको पुलिन्दा कागजमा लेखेरमात्र हुँदैन व्यवहारमा कति छ भुक्तभोगी नै जानून् । नेताहरुको निहित स्वार्थभन्दा नीतिले नै सञ्चालित हुनुपर्छ मुलुक । सत्ताको शिखर सगरमाथा वा पदको शिखरत्व र ठूलाहरु अधिकार सम्पन्न हुनुपर्छ ।
सगरमाथा चढ्नु राम्रो कुरा हो तर सगरमाथामै घर बनाएर बस्नु हुन्न अर्थात् पद र प्रतिष्ठा सदाबहार सँधै रहन्न कसैमा पनि । हाम्रो सिद्धान्त र व्यवहारमा आकाश जमिनको फरक छ । भन्छौं एकथरि गर्छौ अर्कै ।
बोलीमा स्थिरता छैन, निरन्तरता छैन । मानव चित्कार छ, कुण्ठा छ, बेमेल छ, विसंगति छ, बेचैनी छ, बेरोजगारी छ, वेवास्ता छ, पदको लोभ छ, प्रतिष्ठाको भोक छ, पैसाको खेल छ, ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’को उखान चरितार्थ छ । सम्पति कुम्ल्याउने भन्दा ठोस काम केही भएको छैन ।
राम्रा मान्छेको सट्टा हाम्रा मान्छेको चयन छ, राजनीति हावी छ प्रशासनमा, प्रहरीमा, सेनामा आइएनजिओमा, एनजिओमा कुन ठुला संस्थानमा हाम्रो मान्छे कुनै ठुला मुलुकमा हाम्रो राजदूत सबैतिर भागवण्डा छ, सबैतिर राजनीतिक रोजगारी छ ।
दलमा नमिसिएकालाई कुनै ठाउँ छैन । विश्वविद्यालय होस्, वा प्राज्ञिक कुनै पनि क्षेत्र राजनीतिको झोला नबोक्नेहरुको केही स्थान छैन । सबै कुरा खुल्ला बजारमै बिक्री वितरण हुन थालेको छ ।
ज्ञानभन्दा कुर्सी शक्तिशाली भएर ठडिएको छ, कामतिर भन्दा मामतिर, दामतिरको स्वार्थ बढी प्रेरित छ । सबैलाई हाम्रो समाजमा कृष्ण बन्ने हतारो छ, युधिष्ठिर बन्ने होइन ।
सबैलाई यहाँ राम बन्न हतार छ, लक्ष्मण बन्ने होइन, सबैलाई देवी बन्ने सोख छ, कुन्ती बन्ने होइन, सबैलाई कुवेर बन्ने इच्छा छ, सबैलाई अध्यक्ष बन्ने हतार छ, सदस्य भएर काम देखाउने फुर्सद कसैलाई छैन ।
सबैलाई नेता नै बन्नु पर्ने हतार छ, नैतिक बन्नु नपर्ने भएको छ । शान्ति दिन्छु भन्ने हाम्रा आजका बुद्धहरुले अशान्ति दिइरहेका छन्, मन भाँचिरहेका छन् । तर उनीहरुलाई थाहा छैन आकाशलाई पनि बादलले ढाक्न सक्छ, सूर्यचन्द्रलाई पनि ग्रहण लाग्न सक्छ, समुन्द्र सुक्न सक्छ, हावा रोकिन सक्छ, सुमेरु पतन हुन सक्छ ।
तारामण्डलको तारामा गनिन नसक्ने एक मानव धर्तीको अगाडि केही होइन । व्यक्ति एक हेर्दा मरुभूमिको कण हो, तर उसँग अथाह ज्ञान छ, अथाह ऊर्जाको स्रोत छ, विश्वमान चित्रमा मुलुक नेपाल सानो छ, शुन्य दशमलव शुन्य तीन प्रतिशत भूमि बोकेको छ यसले ।
तर यसको सगरमाथा यसले अंगालेको बुद्धभूमि, अपार जलस्रोतको भण्डार, अथाह प्राकृतिक स्रोत साधन, विविधताको भूगोल, हिमाल, पहाड, पर्वतीय सृजना महाभारतको लेक, उर्वर तराईको भूमि, प्रशस्त औद्योगिक सम्भावना, एकमात्र हिन्दुबाहुल्य संस्कृति, धर्म, संस्कार, मन्दिरै मन्दिरले सजिएको सौन्दर्य, पर्यटन उद्योगको बेजोड सम्भावना छ ।
सरल स्वभावका नागरिक, विश्वमै चिनिएको वीर गोर्खाली नेपाली कहिल्यै उपनिवेशको छायाँमा नपरेको स्वाभिमानी जनता बहुभाषिक एकता, धर्म र संस्कृतिमा पखेरामा हुर्केका समाज, पाहुनालाई देवता सरहको व्यवहार गर्ने, साहित्यको धनी बेजोड नमुनाहरु छन् यस मुलुकमा ।
युगौंयुगदेखिको इतिहास बोकेको सुन्दर, शान्त र विशालको नारा लिएको मुलुक भूपरिवेष्ठित बाध्यता र विवशतासँगै आशैको आशाको त्यान्द्रोमा बसिरहेको छ, बहुमूल्य खनिज छ, हामीसँग हिमालको गर्भगृहमा सुन छ ।
वन पैदावार, जडिबुटीको खानि हो मुलुक । उपयोग गर्न, उत्खनन गर्न, उपभोग गर्न सकिएको छैन । हामी भिक्षार्थी भएका छौं, ग्याँसको, मट्टितेलको, पेट्रोलको, हवाइ इन्धनको । देशले काँचुली कहिले फेर्ने हो ?