हाइड्रोजन बम बनाउन हतारो गर्नुको मुख्य कारण अमेरिकामा बढ्दो कम्युनिष्ट विरोधी भावना नै थियो । अमेरिकी संसदका सिनेटर जोसेफ म्याकार्थीले यस कुरालाई बढावा दिइरहेका थिए । बम बनाउने हतारोले वैज्ञानिक आइन्स्टाइनमा चिन्ता थपेको थियो ।
उनलाई अमेरिकी सिनेटरको बम बनाउने भोकलाई सन् १९३० को दशकमा हिटलरको नाजीवादी र यहुदी विरोधी भावनाजत्तिकै तुच्छ भएको कुरामा आइन्स्टाइनले जोड दिँदै आएका थिए । ‘वर्षौंअघि जर्मनहरुको चिसोपन अहिले अमेरिकामा शुरु भएजस्तो लागिरहेको छ, सन् १९५१ मा बेल्जियमकी मुमा बडामहारानी एलिसाबेथलाई पत्र लेख्दै भनेका थिए, र, यस्तो गम्भिर कुरालाई मानिसहरु कुरै नबुझी सहमति दिइरहेका छन् र दुष्ट शक्तिसँग मिसिन गइरहेका छन् ।’
त्यो बेलाका मानिसहरु कि त अमेरिका विरोधी स्वर उराल्थे कि त सोभियत संघ विरोधी । उनीहरु आफू त्यसबीचको मध्यमार्गी बाटो अपनाइरहेका थिए । एकातिर उनी लियोपोल्ड इन्फिल्डसँग सहकार्य गर्दै विश्व शान्ति परिषद्को कुरा उठाइरहेका हुन्थे र परिषदमार्फत् विश्वमा शान्तिका लागि काम गर्नुपर्ने बताउँथे तर यो परिषद सोभियतवादीहरुको प्रभावमा खुलेको थियो भन्ने उनको शङ्का थियो ।
परिषदको स्थापनाका कुरामा पक्कै पनि थोरबहुत प्रपोगाण्डा छ, उनले भनेका छन् । उनलाई केही रुसी विद्यार्थीले कोरियाली युद्धमा अमेरिकाले प्रयोग गरेको जैविक हतियारविरुद्धको प्रदर्शनीमा भाग लिन गरेको आग्रहमा उनले जवाफ दिएका थिए, ‘तिमीले मलाई कहिल्यै नघटेको घटनाका बारेमा कल्पनाका आधारमा विरोध प्रदर्शनमा भाग लिने अपेक्षा गर्नु हुन्नथ्यो ।’
अर्कोतर्फ, अमेरिकाविरुद्ध युद्ध अपराधको आरोप लगाउँदै सिड्नी हुकले लगाएको अभियोगपत्रमा उनले हस्ताक्षर गरेका थिए । यसमा उनको भनाई थियो, ‘प्रत्येक जायज व्यक्ति र कुरामा त्यसको समर्थन गरिनु पर्छ । वस्तुनिष्ठ न्यायको कुरा बिर्सनु हुँदैन ।’
जुलियस र इथेल रोजेनबर्गले सोभियत संघलाई परमाणु बम बनाउने सूत्र बेचेको आरोपमा तिनलाई मृत्युदण्ड दिइनुपर्छ भन्ने आवाजको उनी विरोधी थिए । यो घटनामा उनले कुनै पनि धारणा व्यक्त गर्नबाट बचिरहे, जब कि अमेरिकाभरि नै तिनलाई मृत्युदण्ड दिनुपर्ने हौवा ठूलो थियो । यसको साटो उनले न्यायाधीश इर्भिङ कफम्यानलाई पत्रको खुलासा नगर्न अनुरोध गर्दै लेखेका थिए, ‘म यो भन्दिनँ, रोजेनबर्ग निर्दोष छन् ।
उनले गल्ती गरेका हुन् कि होइनन् भन्ने पनि कसैले प्रमाणित गर्न सकेको छैन । मात्र आरोपका आधारमा निर्णय गर्नु पनि दुःखको कुरा हो र त्यो पनि मृत्युदण्ड जस्तो कुरा, बजारमा मान्छे बौलाएका छन् र वास्तविकता सुन्न चाहन्नन् । यस्तो अवस्थामा भिडको आवाज सुन्नु उचित होलाजस्तो लाग्दैन ।’
रमाइलो त के भइदियो भने त्यो पत्रलाई न्यायाधीश कफम्यानले जासुसी संस्था एफबीआईलाई सुम्पिदिए । यो पत्रले यस्तो काम गर्यो कि, आइन्स्टाइन जस्तो व्यक्तिमाथि पनि अमेरिकामाथि षडयन्त्र गरेको आशङ्कामा उनको फाइल तयार पारियो । तर तीन महिनापछि हुभरलाई एउटा रिपोर्ट बुझाइयो, ‘आइन्स्टाइनले देशविरुद्ध कुनै गतिविधि गरेको प्रमाण फेला परेन । तर त्यो चिट्ठी उनी विरूद्धको प्रमाणका रूपमा अझै रहिरह्यो ।’
न्यायाधीश कफम्यानले मृत्यु दण्डको घोषणा गरे । आइन्स्टाइनले राष्ट्रपति ह्यारी ट्रम्यानलाई चिट्ठी लेखे । ट्रम्यानको राष्ट्रपतीय समयावधि सकिंदै थियो र आइन्स्टाइनले मृत्युदण्ड घोषणा नगर्न अनुरोध गरिरहे । उनले राष्ट्रपतिलाई लेख्न ठीक्क पारेको पत्र शुरूमा जर्मन भाषामा थियो, त्यसलाई पछि अंग्रेजीमा साफी गरी पठाइएको थियो । पत्रमा उनको जोड थियो, ‘मृत्युदण्डले कसैलाई कहिँ पनि पुर्याउँदैन । राष्ट्रपति ट्रम्यानले यसको निर्णय गर्ने अधिकार नयाँ राष्ट्रपति आइजनहावरमाथि छाडिदिए र स्वभाविक रूपमा आइजनहावरले मृत्युदण्डको प्रक्रियालाई अघि बढाए ।
राष्ट्रपति ट्रम्यानलाई लेखेको चिट्ठी न्यूयोर्क टाइम्स पत्रिकाको प्रथम पृष्ठमा छापियो र समाचार शीर्षक थियो–‘आइन्स्टाइनले रोजेनबर्गको अपिलको समर्थन गरे । अमेरिका भरिबाट सो चिट्ठीका विरुद्धमा सयभन्दा बढी क्रूद्ध चिट्ठीहरू पठाइयो । न्यूयोर्क टाइम्सले भोलिपल्टको अङ्कमा चिट्ठी प्रकाशन गर्यो । जसमध्ये प्रमुख चिठ्ठीहरू यस्ता थिए ।
‘तिमीलाई अमेरिकाले गरेको कृपाको अलिकति भए पनि लाज लाग्नु पथ्र्यो, भर्जिनियाबाट मरियन रल्सले लेखेकी थिइन् । तिमीले यहुदीहरूलाई प्राथमिकता र अमेरिकालाई दोस्रोमा राख्यौ, न्यूयोर्कबाट चार्ल्स विलियम्सले लेखे । कोरियामा युद्ध लडिरहेका कर्पोरल होमर ग्रिनले लेखे, प्रामाणिक रूपमा नै तिमी हाम्रा युद्धरत सेना र सर्वसाधारणलाई मरेको हेर्न चाहँदा रहेछौ । तिमी बरु रुस नै जाऊ अथवा जहाँबाट आएका हौ, त्यहीँ जाऊ । अमेरिकाभित्रै बसेर अमेरिका विरुद्ध बोलेको हामी सहँदैनौं ।’
आइन्स्टाइनको समर्थनमा उति धेरै चिट्ठी आएनन् । बरु सुप्रिम कोर्टका न्यायाधीश विलियम ओ. डग्लसले यो मृत्युदण्ड अघि नबढाउन असफल प्रयास गरे । उनीसित कुरा मिल्ला भनेर आइन्स्टाइनले पत्र आदानप्रदान गरेका थिए । चारैतिर मृत्युदण्डको हल्ला चलिरहेका बेला तपाईंले यो रोक्न गर्नुभएको प्रयासको म सराहना गर्दछु । अहिलेको समस्यापूर्ण समयमा हामीले स्वस्थ्य आलोचना र विचारको सम्मान गर्न सक्नु पर्दछ ।’
आइन्स्टाइनको यो चिठ्ठीको बदलामा न्यायाधीश डग्लसले हातैले लेखेर पठाएका थिए, ‘तपाईंले मेरा पक्षमा गर्नुभएको पैरवीलाई अँध्यारो स्थितिमा दिनुभएको सलाईको काँटी मानेको छु । तपाईंको यो सम्मानको सधैं अर्थ रहनेछ ।’
आइन्स्टाइनलाई सोधिएको एउटा गतिलो प्रश्न चाहिँ के थियो भने, उनले सधैँ अमेरिकी सरकारले रोजनबर्गलाई मृत्युदण्डको घोषणा विरुद्ध उभिएका थिए तर रुसमा नौजना यहुदी डाक्टरहरूलाई रुसी उच्च नेताहरूलाई मार्ने षडयन्त्र गरेको आरोपमा स्टालिनले मृत्युदण्डको घोषणा गर्दा उनी तिनका पक्षमा किन नबोलेका ? यस्तो प्रश्न सोध्नेमा न्यूयोर्क पोस्ट पत्रिकाका प्रकाशक तथा न्यू लिडर पत्रिकाका सम्पादकसमेत थिए ।
‘रुसी क्रियाकलाप भत्सर्नायोग्य त छँदैछ, यसमा कुनै शङ्का छैनु, उनले लेखेका छन्, “फेरि मैले स्टालिनलाई निजी रुपमा गरेको अपिलको कुनै अर्थ पनि लाग्दैन । अँ, बरू सामूहिक रूपमा घोषणा गर्नुले सहयोग पुर्याउन सक्छ । त्यसैले त उनले रसायन शास्त्रमा नोबेल पुरस्कार प्राप्त यारोल्ड उरे र अन्य मिलेर ती डाक्टरहरूप्रति लगाइएको आरोप र बनाइएको बन्दी तथा तिनमाथि मृत्युदण्डको घोषणा हुनसक्ने अवस्थाप्रति सामूहिक अपिलका साथ तिनलाई स्वतन्त्र छाड्न आग्रह गरिएको थियो । पछि यो कुरालाई न्यूयोर्क टाइम्स पत्रिकाले महत्वका साथ ठाउँ दिएको थियो । स्टालिनको मृत्युपछि ती चिकित्सकहरूलाई छाडिएको थियो ।
अर्कोतर्फ, आइन्स्टाइनले के कुरामा जोड दिएका थिए भने, ‘अमेरिकीहरु कम्युनिष्टसँग यति धेरै डराइरहनु आवश्यक छैन । जहाँ स्वतन्त्रता फल्छफुल्छ, त्यहाँका जनताले स्वतन्त्रता हरण हुने कुराबाट रक्षा गर्नेछन् ।’
उनले बेलायतीहरुको उदाहरण दिएका थिए । बेलायतमै पनि कैयौँ घरेलु कम्युनिष्ट पार्टीहरु छन् तर तिनको प्रभाव त्यहाँ नगण्य छ किनभने त्यहाँका जनतालाई स्वतन्त्रता अति प्यारो छ । त्यसैले जनता र स्वतन्त्रतामा विश्वास गर्ने अमेरिकीहरु पनि कम्युनिष्ट नाउँबाट तर्सनु कुनै आवश्यक छैन ।