अनिकाल र युद्धका कारण विस्थापित सर्वसाधारणको बसोबास तथा माटो र इँटाले बनेका बाक्ला घरको बाहुल्य रहेको पश्चिम अफगानिस्तानको एक घना बस्तीमा एक महिला छोरीलाई बचाउन संघर्षरत छिन् ।
अजिज गुल नाम गरेकी ती महिलाका पतिले उनलाई थाहै नदिई १० वर्षीया छोरीलाई विवाहका नाममा बिक्री गरेका थिए । अरू ५ बालबालिकाको भरणपोषणका लागि उनका पतिले अग्रिम भुक्तानीमा ती छोरीलाई बेचेका थिए ।
छोरीलाई बेचेर भएको आम्दानीले अरू सदस्य भोकभोकै बस्नुनपर्ने उनका पतिको तर्क थियो । परिवारका अरू सदस्यलाई बचाउन एकजनाको बलिदान गर्नुपरेको धारणा उनको थियो ।
गरिबीका कारण अफगानिस्तानका अरू कैयन असहाय अभिभावक यस प्रकारको निराशाजनक निर्णय लिन बाध्य छन् । तालिबान समूहले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि गत अगस्तमा अमेरिकी तथा नाटो सैनिक बाहिरिएका थिए ।
बाह्य अुनदानमा आश्रित अफगानिस्तानको अर्थतन्त्र विदेशी सैनिकको बहिर्गमनअगाबै कमजोर थियो । यसबीच तालिबानसँग सहकार्य गर्न अनिच्छुक विश्व समुदायले देशबाहिर रहेको उसको सम्पत्ति फ्रिज गरेको छ भने अन्य अनुदान पनि रोकेको छ ।
२० वर्षअघि सत्तामा रहँदा तालिबानले गरेको ज्यादती फेरि दोहोरिन सक्ने आशंका विश्व समुदायलाई छ । चार दशक लामो युद्ध खेपेको यो देश चर्को खडेरी तथा कोरोना भाइरस महमारीका कारण संकटमा छ ।
डाक्टरसहित अन्य सरकारी कर्मचारीले महिनौंदेखि मासिक तलब पाउन सकेका छैनन् । कुपोषण तथा गरिबीका कारण यहाँको ठूलो जनसंख्या जोखिममा छ । दातृ संस्थाका अनुसार अफगानिस्तानको आधा जनसंख्या गम्भीर खाद्य संकटमा छ ।
‘दिनानुदिन यहाँको स्थिति बिग्रँदो छ, विशेषगरी बालबालिका यसबाट सबैभन्दा बढी प्रभावित छन्,’ अफगानिस्तानमा कार्यरत दातृ निकाय वल्र्ड भिजनका राष्ट्रिय निर्देशक असुन्था चार्ल्स भन्छिन् ।
उनको संस्थाले अफगानिस्तानको पश्चिमी सहर हेरातनजिकै विस्थापित सर्वसाधारणका लागि हेल्थ क्लिनिक सञ्चालन गर्दै आएको छ ।
‘परिवारका अन्य सदस्यलाई बचाउन आफ्ना बालबालिका बेच्न बाध्य भएको देख्दा म अत्यन्त मर्माहत भएकी छु,’ उनले भनिन् । मानवतावादी विश्व समुदायले अफगान जनतालाई सहयोग गर्न आवश्यक रहेको उनको कथन थियो ।
अत्यन्त सानो उमेरमा किशोरीको विवाह गर्नु यो क्षेत्रको आम प्रचलन हो । टाढाको नाताका दुलाहाको परिवारले पैसा तिरेर यस प्रकारको सम्झौता गर्ने गर्छन् र सामान्यतया उमेर १५–१६ वर्ष नभएसम्म किशोरी माइतीमै बस्ने गर्छन् ।
तर आधारभूत खाद्यवस्तुको अभावमा दुलाहाले त्यसअघि नै किशोरी दुलहीलाई भित्र्याउन अनुमति पाउँछन् । यो समाचार नागरिक दैनिकमा छ ।