• फाल्गुन २९ २०८२, शुक्रबार

प्रशान्त डंगोलको नेतृत्वमा एमाले अखिलको नगर समिति चयन

पुष १७ २०७८, शनिबार

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काठमाडौंको टोखा नगर समितिको भेलाले प्रशान्त डंगोलको नेतृत्वमा समिति चयन भएको छ । टोखा नगरपालिका वडा नं २ स्थित न्हूजः पुस्तकालयमा शुक्रबार आयोजित भेलाबाट डंगोलको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन गरिएको हो ।

अनेरास्ववियु नगर समिति अध्यक्ष विकास श्रेष्ठको साभापतित्वमा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य तथा अनुसासन विभाग प्रमुख दिपेश प्रसाईंको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियो । पार्टी बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य दिपेन्द्र श्रेष्ठ तथा एमाले टोखा वडा नं ८ का सचिव अनुपकुमार राईले पार्टीलाई खवरदारी गरिराख्ने संस्था अनेरास्ववियुले विगतको जस्तो साख जोगाउन वर्तमान अवस्थामा गर्नुपर्ने कुनै पनि काम थाती नराखी फटाफट कार्यान्वयमा लाग्नु पर्ने जनाए ।

कार्यक्रममा काठमाडौं जिल्ला कमिटी सदस्य एवम् प्रदेश संस्कृति विभाग इञ्चार्ज मनिराज डंगोलले टोखा एक संरक्षित नगर तथा काठमाडौंको प्रवेश गर्ने प्रमुख उत्तरी द्वार रहेकाले यसै मार्ग हुँदै हाम्रा पुर्खाहरुले ल्हासासँग ब्यापार गरेको बताए । उनले टोखा नगरपालिकाले विकास परियोजनामा देखाएको अग्रसरताकै कारण देशकै अग्रणी नगरपालिकामा बन्न भएकोमा नगरपालिकालाई बधाईपनि दिए ।

उनले अनेरास्ववियु टोखाको कमिटीले टोखा नगरको भूगोल र संस्कृतिलाई सुक्ष्म ढंगले अध्ययन गरी टोखाको इतिहासको महिमा, वास्तुकला, शिल्पकला, काष्ठकला, प्रस्तरकलालाई संसारभर चिनाउन समेत महत्वपूर्ण योगदान दिन सफल रहोेस् भनेर कार्यकाल सफलताको शुभकामना दिए ।

काठमाडौं जिल्ला कमिटी सदस्य एवम् टोखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले नेपाल भौगोलिक विविधताले सुसज्जित देश भएको भन्दै यहाँका विभिन्न जातजाति, भाषाभाषीहरुको सौहार्द पूर्ण मेलमिलापले भौगोलिक, सांस्कृतिक विविधता जगेर्ना गर्न सक्षम भएको बताइन् । उनले स्थानीय भाषा संस्कृति जगेर्ना गर्नु टोखा नगरपालिकाको पनि प्रमुख दायित्व रहेको बताइन् । उनले नेपाल भाषालाई पठनपाठनमा कार्यान्वयनमा ल्याउन नगरले बजेटको व्यवस्था गरेकाले निकट भविष्य मै नेपाल भाषालाई विद्यालय स्तरसम्म अनिवार्य विषयको रुपमा पठनपाठनमा ल्याउन पहल गरिरहेको जनाइदै नयाँ कमिटीलाई कार्य सफल कार्यकालको शुभकामना दिइन् ।

पार्टीका बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य दिपेन्द्र श्रेष्ठले अनेरास्ववियु भनेको पञ्चायत शासन ढाल्ने समयदेखि लड्दै आइरहेको देशकै पहिलो संस्था भएका दावी गरे । उनले कालापानीमा भारतले सिमा मिच्दा अनेरास्ववियुको नेतृत्वमा ३५ दिन लगाएर कालापानीमा पुगेर नेपालको झण्डा र अनेरास्ववियुको झण्डा गादेर भारतीय सुरक्षा निकायसँग मुकाबिला गरेर नेपाल र नेपालीको सान बढाएको संस्था भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रसाईंले अनेरास्ववियु जहिले पनि प्रतिपक्षमा उभिने संस्था हो भन्दै एमाले सरकारमा हुँदा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको संस्था भएको बताए । प्रसाईंले अनेरास्ववियुको अग्रसरतामा नै विद्यार्थीलाई गाडि भाडामा ४५ प्रतिशत छुटको दिलाइएको भन्दै उनले हरेक विद्यालयमा १५ प्रतिशत कोटा निम्न वर्गका विद्यार्थीहरुलाई छुट्याएको हुन्छ तर तालमेलमा सो कोटा विद्यालयले लुकाउने गरेको आरोप लगाए । उनले अब बन्ने नयाँ अनेरास्ववियु कमिटीले सो विषयमा आवाज उठाउन आग्रह गरे ।