नेपालको पर्यटकीय क्षेत्रका रुपमा सूचीकृत त्रिपुरासुन्दरी मन्दिरमा निकै ठूूलो मेला लाग्ने गर्दछ । यो मेला शायद सुदूरपश्चिमका मेलाहरुमा सबैभन्दा ठूलो मेला हो । यो मेला सकिएलगत्तै बैतडीकै देहिमाण्डुमा रहेको निङलासैनी मन्दिरमा अर्को ठूलो मेला लाग्छ ।
यहाँ पनि सयौंको संख्यामा राँगाहरुको बली दिइन्छ गत वर्ष कोरोनाका कारण मेला भर्न नपाएका र भाकल गरेपनि बली चढाउन नपाएका भक्तालुहरुले यसपाली बैतडीकै मैलौली मन्दिरमा झन्डै ४ सयभन्दा बढी बोका र राँगाको बली दिएका छन् ।
त्यैसगरि बाजुरा जिल्लामा रहेको बडिमालिका मन्दिरमा पनि जनै पूर्णिमाको अघिल्लो दिन कर्णाली प्रदेशसहित भारतबाट समेत बडिमालिका देवी (दुर्गाभवानी)को दर्शन गर्न र मेला हेर्नको लागि सयौंको संख्यामा दर्शनार्थीहरु आउने गर्दछन् ।
बडिमालिकामा मेला लाग्ने दिनमा नै अछामको विनायकमा पनि कालोमस्टो देवताको पूजा गर्नुका साथै सयौंको संख्यामा पाठा र बोकाहरुको बली दिइन्छ । पूजा भइरहेको समयमा धामीहरुले आफ्नो शरीरमा देउता चढेको भन्दै जीउँदै बोका, पाठाहरुको रगत चुस्ने अनौठो चलन रहेको छ ।
त्यसैगरि अछामको डौठेगडामा कार्तिक महिनाको पूर्णिमाको दिन ठूलो मेला लाग्दछ । भाकल गरेर ल्याइएका राङ्गाहरुलाई खुकुरी, खुँडा, तरवारले हिर्काउँदै धपाई धपाई निर्ममतापूर्वक बली दिने चलन छ ।
अछाम, डोटी, बजाङ, बाजुरा चारवटा जिल्लालाई छोएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने खप्तड त्रिवेणीमा समेत असारको महिनामा दशहराको ठूलो मेला लाग्दछ । डोटी जिल्लामा लाग्ने सुप्रशिद्ध केदारनाथ जात्रा कार्तिक वा मंसिर महिनाको शुक्ल त्रयोदशीको दिनमा लाग्दछ ।
यसै दिनमा अछामको कमलबजार नगरपालिकाको जामा भन्ने गाउँमा समेत यो जात्रा मनाइन्छ । यहाँ भने धामीहरुले देउता चढेको बेला घिउ खाने चलन छ । अन्य कतिपय मन्दिरहरुमा दलितहरुलाई मन्दिर पस्न बन्देज भएपनि यहाँ भने दलित समुदायबाट धामी रहने चलन छ ।
सुदुरपश्चिम प्रदेशका कतिपय गाउँहरुमा अहिले पनि बिजुली पुग्न सकेको छैन । मेरो आफ्नै गाउँ पनि कमलबजार नगरपालिकाभित्र पर्छ । तर पनि त्यहाँ सडक, पानी तथा विजुलीको सुविधा छैन । कोहि टुकीको सहारा लिन्छन् भने कसैले मोबाइल चार्ज गर्न भएपनि सानो सोलार किनेका छन् ।
बादल वा पानी परेको बेला सोलारले पनि काम गर्दैन । सुदुरपश्चिम मात्र नभइ कर्णाली प्रदेशका ६७ प्रतिशत जनताहरु टुकी र सौर्य उर्जाकै भरमा जीवनयापन गर्दैैै आइरहेको हालै प्रकाशित भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको जलस्रोत तथा उर्जा विकास महाशाखाको तथ्याङकले जनाएको छ ।
मोबाइल, टेलिभिजनजस्ता मनोरञ्जनका साधनहरु उनीहरुसँग छैनन् । हातमुख जोड्नकै लागि रातदिन घरखेतको काममा व्यस्त रहने, घरभन्दा टाढा नजाने महिलापुरुषका लागि समयसमयमा लाग्ने यस्ता मेला, जात्रा, पर्वहरु अति नै महत्वपूर्ण हुन्छन् ।
दुनियाँदारीभन्दा टाढा रहेर बिहानदेखि बेलुकीसम्म सँधै घरखेतको काममा जोतिइरहने महिलाका लागि यस्ता चाडवाडमा नयाँ लुगा लगाउनु, नयाँ, पुराना डिजाइनका गरगहनाले सजिएर बालबच्चासहित मेलापर्व हेर्न जानु सबैभन्दा रमाइलो क्षण हो ।
साँच्चिकै भन्ने हो भने गाउँमा लाग्ने मेलापर्व नै मनोरञ्जनका साधन हुन् गाउँलेहरुका लागि । वर्षौसम्म भेट नभएका माइती, आफन्त, इष्टमित्रसँग भेटगर्ने बहाना पनि हुन् सुदुरपश्चिमका मेला पर्व र जात्राहरु । मेलाबाटै उमेर पुगेका युवायुवतीहरुले आफू सुहाउने बर खोजेर बिबाह गरी घरजम समेत गर्ने गरेका छन् ।
स्थानीय बासिन्दाहरुका लागि आफ्नो बारीमा फलेका अन्नपात, फलफूल, राँगा, खसीबोका, घिउ आदि बेचेर घरखर्च चलाउन पनि मेलाहरु अति नै महत्वपूर्ण हुने गरेका छन् । मन्दिरमा पूजा गर्नकै लागि लाग्ने मेला, जात्राहरु आस्थाका धरोहर समेत हुन् ।
मन्दिरमा भगवानको अगाडि गएर कतिपय मानिसहरुले रक्सिचुरोट छोड्ने, झुट नबोल्ने, गलत काम नगर्ने, श्रीमती नकुट्नेजस्ता वाचाकसम खाएर सुध्रिने समेत गरेका छन् ।
सुदुरपश्चिम प्रदेशमा घुम्नलायक ठाउँहरु पनि थुप्रै छन् । खप्तडका ठूला फाँटहरु, ट्रेकिङका लागि बाजुराको बडिमालिका, अपिसाइपल हिमालको मनोरम दृष्य, रामारोशनका लालीगुराँसका थुङगाहरु, मंगलसेन दरबार, उग्रसेन, निङलासैनी, त्रिपुरासुन्दरी देवीको मन्दिर, कञ्चनपूरको झण्डै १५ सय मिटर लामो झोलुङगे पूल, घोडाघोडी, रङफेरिरहने झिलमिला ताल, मुख्य गरेर हरिण तथा कृष्णासारले भरिएको शुक्लाफाँटा राष्ट्रिय निकञ्ज, अपिनम्पा आरक्षजस्ता अनेकौं मठमन्दिर, तालतलैया, गुफा, पहाड, वनजंगलले रमणीय बनेको छ सुदुरपश्चिम प्रदेश ।
सुदुरपश्चिम प्रदेशको छुट्टै भाषा, कला, संस्कृति, रहनसहन रहेको छ । बच्चादेखि बुढासम्म सबैले गाउन सक्ने, सबैका मनमा बसिरहने डेउडा गीत, गौरा पर्व पनि सुदुरपश्चिमका अमूल्य सम्पत्ति हुन् ।
दुरीको हिसाबले पनि वर्षौसम्म सिंहदरबारबाट टाढा रहेको सुदुरपश्चिम प्रदेशमा केहि कुरितिहरु भने अहिले पनि विद्यमान रहेका छन् । सरकारले दुईवर्ष अगाडि छाउपडी प्रथा हटाउन छाउगोठ भत्काउनेदेखि, सम्झाउने, बुझाउने र छाउगोठ बस्ने र बस्न बाध्य पार्नेलाई सजाय दिन सुरु गरिसकेको थियो ।
त्यतिखेरै देशभरि फैलिएको कोरोनाका कारण यो अभियानमा बाधा अडचन देखिए । धेरैजसो छाउगोठहरु भत्किएपछि महिनाबारी भएका महिलाहरु बुझेर वा डरले भएपनि घरभित्र बस्न थालिसकेका थिए ।
तर यो अभियान सुस्त हुँदै जाँदा महिलाहरु फेरि छाउगोठ खोज्न थालिसकेका छन् । सरकारले चाहेमा छाउप्रथा हटाउन सम्भव छ । एकचोटि मात्रै नभइ चरणबद्ध रुममा यदि विभिन्न अभियानहरु सञ्चालन हुँदै जाने हो भने एकदिन छाउगोठ मात्रै हैन सती प्रथा, दास प्रथाजस्तै सुदुरपश्चिमबाट छाउप्रथा हट्न समय लाग्ने छैन ।
सानातिना तर मानव शरिरमा गम्भीर असर पुर्याउने खालका अन्धविश्वास पनि सुदुरपश्चिम प्रदेशमा देखिन्छन् । सन्तुलित खानपानको अभावमा बालबालिका बिरामी पर्दा कसैको आँखा लागेको भन्दै अस्पताल लिएर जानुको सट्टा धामी, झाँक्रिलाई देखाउने, पुजा, भाकल गर्नेजस्ता अन्धविश्वासहरु अहिले पनि सुदुरपश्चिममा व्याप्त छन् ।
महिनावारी भएकी महिलाले फलफूलका रुखहरुलाई छुँदा फलफूल झर्ने, कुहिने, गाईभैंसीको दूध, दही बेच्दा गाईभैंसीले दूध नदिने, बिग्रने, बाँझो रहने, तल्लो जात भन्दै दलितहरुलाई नछुने जस्ता अनेकौं अन्धविश्वासले त्यहाँका मानिसहरु जकडिएका छन् ।
सुदुरपश्चिम प्रदेश देशको राजधानीबाट टाढा नै भएपनि नागरिकका धेरैजसो आधारभूत आवश्यकताहरु पूरा गर्न सफल भएको छ । गाउँगाउँमा पुगेका सडकहरुले यातायात सुविधा लगायत धेरै कामहरु गर्न सजिलो भएको छ ।
तर सडक पुग्दैमा त्यहाँका नागरिकलाई सबै कुरामा सजिलो भने भएको भने छैन । त्यहाँका सबै अस्पतालमा सिकिस्त बिरामीका लागि सिटिस्क्यान मेसिनसम्म छैन । बिरामीको रोग पत्ता लगाउन सिटिस्क्यान मेसिन धेरै महत्वपूर्ण हुन्छ ।
कतै आईसियु जडान गरिएपनि कतिपय अस्पतालहरुमा आइसियुको समेत व्यवस्था छैन । स्वासप्रश्वासका बिरामी लगायत कतिपय सिकिस्त बिरामीलाई आइसियु, भेन्टिलेटर जस्ता मेसिनको आवश्यकता पर्दछ ।
तर तिनै मेसिनहरु जिल्ला अस्पतालमा समेत नहुँदा उपचार कसरी सम्भव होला ? रोग पत्ता लगाउन र त्यसको उपचार गर्न राजधानीसम्म धाउनुपर्दा बिरामीहरुलाई धेरै सास्ती हुने गरेको छ ।
उपचारको लागि आफ्नै देशको राजधानी पुग्नुभन्दा महङ्गो शुल्क तिरैर भएपनि भारतको पिथौरागढ, खटिमा, दिल्लिसम्म गएर उपचार गराउन बाध्य छन् सुदुरपश्चिमका जनताहरु ।
गाउँघरको विकासमा ध्यान दिनु छ भने मठ, मन्दिर, मेला, जात्राहरुको संरक्षण गरेजस्तै भौतिक पूर्वाधारयुक्त स्कुलहरु तथा, गुणस्तरीय शिक्षाको आवश्यकता रहेको छ । गाउँघरमा विद्यमान कुरिति तथा अन्धविश्वास हटाउनको लागि त्यहाँका नागरिक साक्षर हुनु एकदमै जरुरी देखिन्छ ।
साथै, गाउँमा विजुली, सिंचाइ तथा खानेपानीको व्यवस्था, किसानलाई जंगली जनावरबाट आफ्ना उत्पादन जोगाउनका साथै बजारको व्यवस्था हुन सक्यो भने गाउँका युवाहरु गाउँमै बस्ने वातावरण बन्न सक्थ्यो र हाम्रा जात्रा, मेलाहरु पनि कालान्तरसम्म रहिरहन्थे ।
जनताले भोग्दै आएका समस्याको पहिचान गरी तिनको उचित व्यवस्थापन गर्नसके मात्रै हाम्रा गाउँघर मानिसहरुले भरिभराउ हुनेछन् । हैन भने जात्रा, मेलासँगै हाम्रा गाउँघर पनि हराएर जानेछन् ।