सिरहामा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सवारी साधनमा तोडफोड गरेका छन्। हड्ताल गर्दै हिँडेका पार्टीका कार्यकर्ताहरूले औरही गाउँपालिका वडा नम्बर ५ मा सवारी साधनमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। अहिलेसम्म उनीहरूले आधा दर्जनभन्दा बढी सवारी साधनमा तोडफोड गरेका छन्।
तोडफोड तथा बन्द गराउँदै हिँडेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
केही दिनअघि औरही गाउँपालिकाले गहुँको बिउँ बाँडेको थियो। अनुदानको गहुँ वितरणमा विवाद हुँदा प्रहरीले सोही ठाउँका मिथलेस यादवलाई पक्राउ गरेको थियो।
आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै जनमत पार्टीले आइतबार सिरहामा आमहड्तालको घोषणा गरेको हो।