सबै रोगीका लागि जाडो निकै खतरनाक समय हो । यो समय शरीर कठ्यांग्रिने र कोलेस्टोरलको मात्रा बढेर रगत बाक्लो हुने भएकाले मुटु रोगीका लागि बढी सकसपूर्ण हुन्छ ।
यसका लागि सबै बिरामीले र विशेषतः मुटु रोगीले निम्न १० उपायहरु अवलम्बन गर्नु स्वास्थ्यका लागि निकै उपयोगी हुने छ :
क) पानी प्रशस्त पिउने :
जाडोमा मानिसले प्रायः कमै मात्रामा पानी पिउने गर्दछन् । चिसोको डर, तीर्खामा कमी, पसिना कम आउने भएकाले पनि पानी कम मात्रामा पिउन मन लाग्छ ।
तर यो बेलामा पानीको मात्रा कम हुनुको कारण शरीरमा रगत बाक्लो हुन थाल्छ । यो बेलामा शरीरलाई पानी प्रशस्त मात्रामा चाहिन्छ । पानीले बाक्लो रगतलाई पातलो बनाएर संभाबित हर्टअट्याक तथा अन्य जोखिमबाट बचाउँछ ।
ख) ‘वार्मअप’ अथवा व्यायाम :
तर शारीरिक व्यायाम सुरु गर्नुभन्दा पहिले ५देखि १० मिनेटसम्म शरीरलाई तताउन वा सक्रिय बनाउने जरुरी हुन्छ । त्यसपछि मात्र व्यायाम गर्नु उत्तम हुन्छ ।
ग) हिँडाइको गति कम गर्ने :
चिसोमा मुटुमा हुन सक्ने जोखिम घटाउन हिँडाइको स्पिड कम गर्नु पर्छ । पहिले बिस्तारै हिँडेर स्पिड बढाउँदै लैजानु पर्छ । धेरै दगुर्नु हुँदैन । बरु हिँडाइको अवधि बढाउनु नै सुरक्षित उपाय मानिन्छ ।
घ) प्रतिकूल मौसम :
चीसो हावा चलिरहेका बेला बाहिरफेर निस्केर हिँड्ने वा व्यायाम गर्ने गर्नु हुँदैन । त्यसै गरी पानी परिरहेको बेलामा पनि बाहिर निस्केर हिंडनु हुँदैन ।
यस्तो बेलामा घरबाहिर ननिस्कने बरु कोठामा बसेर ‘इन्डोर’ ब्यायम गर्न ध्यान दिनु पर्छ ।
ङ) धुम्रपान र सूर्ति सेवन :
जाडोमा प्रायः मानिसहरु धुम्रपान र मदिरा सेवन गर्ने गर्दछन् । यसले जाडो कम गराउँछ भन्ने उनीहरुको गलत सोच रहेको हुन्छ ।
जाडोमा मदिरा वा चुरोट सेवनले जाडो कम गराउँदैन । बरु त्यसको निकोटिनले शरीर लठ्याउन र जाडो कम भएको महसुस गराउन सक्छ । यो भने जाडोले पनि र निकोटिनले पनि शरीरमा दोहोरो हानी पुर्याउनु हो ।
त्यसैले जाडो महिनामा मुटुमा हुने असरलाई मदिरा र चुरोट सेवनले झन् बढाउने हुनाले यसको प्रयोग नगर्नु राम्रो हुन्छ ।
च) चिल्लो खाना :
जाडोमा चिल्लोको प्रयोग बढी गरिन्छ । मानिसमा यसबारेमा विगत देखि नै गलत धारणा रहँदै आएको छ । चीसोमा तेल बढी खानाले जाडो हराउँछ । वा, यसो पनि भनिन्छ, चीसो घुस्न पाउँदैन ।
तर यो धारणा गलत हो । चिल्लोले शरीरभित्र कोलेष्टोरलको मात्रा निकै बढाइदिन्छ । त्यसैले हिँउ दमा हुने पार्टी प्यालेसको जमघट, भोजभतेर आदिमा चिल्लो खानामा सतर्क रहनु पर्छ ।
छ) सुगर र प्रेसर :
जाडो महिनामा सुगर र प्रेसरले निकै सताउँछ । यसको मूल कारण पानीको प्रयोगमा कमी आउनुले गर्दा हो । अर्को कुरा, चिल्लो, बोसोयुक्त खाना र सुगर पाइने खानाको बढी प्रयोग पनि हो ।
यो बेलामा प्रेसर र कोलेष्टोरलको स्तर बढ्ने हुनाले यसको नियमित जाँच र खानामा परहेज रहनु जरुरी हुन्छ ।
ज) चिसोमा छाती दुख्नु :
मुटु रोगको प्रमुख लक्षण एन्जाइना हो । यो भनेको चिसोमा बढी देखिन्छ । यसले मुटुमा दुखाइ ल्याउँछ ।
यसले मुटु सुन्निएको जस्तो बोध गराउँछ । श्वासप्रश्वासमा पनि बाधा पुर्याउँछ । यस्तो बेलामा डाक्टरको नियमित सम्पर्कमा रहनु जरुरी हुन्छ ।
झ) औषधिमा नियमितता :
जाडो याममा मुटुरोग, प्रेसर, सुगर, कोलेष्टोरलको आदिको औषधि नछुटाइकन नियमित खानु पर्छ ।
ञ) व्याममा चिसोको सुरक्षा :
मानिस व्यायाम गर्दा पसिना आउने भएकाले शरीरको कपडा फुकाल्ने गर्दछन् । तर यस बेलामा चिसोले समातेर ब्रोङकाइटिस, निमोनिया आदि हुने गर्दछ ।
त्यसैले व्यायाम गर्दा पनि न्याना र ताता कपडा लगाउनु पर्छ । बरु पसिनाले लगाएका कपडा भिजेमा तिनलाई बदलेर अरु अभिजेका कपडा लगाउन ध्यान दिनु पर्छ ।
यसका साथै हिँड्दा पर्याप्त लुगा लगाएर टाउको, कान, हात, पैतला छोपेर जुत्ता लगाएर हिँड्नुपर्छ ।