• बैशाख ११ २०८२, बिहीबार

विवेकशील साझा पार्टीले ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

पुष ७ २०७८, बुधबार

काठमाडौँ। विवेकशील साझा पार्टीले २७ पुषकाे पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ । याे यात्रा कञ्चनपुरबाट २७ पुषमा सुरु भएर १६ माघमा शहीद दिसवका दिन झापा पुगेर अन्त्य हुने पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

उनका अनुसार मंगलबार बसेकाे सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले याे निर्णय गरेको हो । यात्राको विस्तृत विवरण पछि प्रकाशित गरिने बताइएको छ।

विवेकशील साझा पार्टीद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ। ‘नागरिकहरूका आ(आफ्ना वैचारिक दृष्टिकोण भए पनि “विचारभन्दा माथि देश” नै हो भन्ने भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पुर्‍याउनु, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य हुनेछ।’

सो पार्टीले आफ्ना सम्पूर्ण नेता, सदस्य र शुभेच्छुकहरुलाई पार्टीको यो विशेष यात्रामा साथ दिन अनुरोध समेत गरेको छ ।