काठमाडौँ। विवेकशील-साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले निष्कासित गरेपछि संयोजक मिलन पाण्डेले तानाशाहीको पतन निश्चित रहेको बताएका छन्।
पार्टी संयोजकसँगै साधारण सदस्यसमेत नरहने गरी मिश्रले हटाएपछि पाण्डेले मंगलबार यस्तो प्रतिक्रिया दिएका हुन्।
‘त्यो पुस १, त्यो पुस ५ अनि आज पुस ६…यी दिन लूटतन्त्रका बिम्ब हुन्’, उनले भनेका छन्, ‘तानाशाहीको पतन निश्चित छ भन्ने उदाहरण पनि। लोकतन्त्र र पार्टीले यस्ता पात्र र प्रवृत्ति सामना नगरी पार्टी बलियो हुँदैन। लोकतन्त्र बलियो हुँदैन। सरी ब्रो, राजतन्त्र मान्न सक्दिनँ।’
उनले मिश्रले बोलाएको बैठकलाई पनि अवैधानिक भनेका छन्। ‘विवेकशील साझा पार्टीको एकीकरण घोषणापत्र, विधान र विचार विपरीत एकाएक पार्टीमा पश्चगामी, संविधानविरोधी, व्यवस्थाविरोधी बाटोमा हिँड्न पुगेका पार्टी अध्यक्ष रवीन्द्र मिश्रले आज अवैधरूपमा आफ्नो समूहको बैठक बोलाई मलाई पार्टी संयोजकबाट निष्कासन गरेको भन्ने समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधि मार्फत हल गर्नुपर्नेमा त्यसविपरीत ‘पार्टीबाट निष्कासन’ गरेको भनेर भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दुराशयको पराकाष्ठा ठान्दछु। यो निर्णयलाई अस्वीकार गर्दछु।’
पाण्डेले पार्टीका सदस्य तथा आम शुभेच्छुकहरूलाई अवैधानिक तरिकाले गरिएको निर्णयको भ्रममा नपर्न पनि भनेका छन्।
‘मैले उन्नत, अग्रगामी र सुसंस्कृत विवेकशील साझा पार्टी निर्माणका लागि मेरो जीवनका सर्वाधिक ऊर्जाशील १० वर्ष खर्च गरेको छु’, उनले थपेका छन्, ‘तत्कालीन विवेकशील नेपाली दलको महाधिवेशनबाट निर्वाचित अध्यक्ष भई रहँदा, पार्टी एकता गर्दा र अन्य राजनीति अभियानमा संलग्न हुँदा विवेकशील साझा पार्टी गठन र सुदृढीकरणका लागि मैले निरन्तर सक्दो योगदान गरेको छु। अझै उन्नत, लोकतान्त्रिक र अग्रगामी पार्टी र राजनीतिका लागि मेरो सम्पूर्ण समय, विवेक र ऊर्जा लगाउन प्रतिबद्ध छु। मेरो आस्थालाई कसैले खोस्न र कारबाही गर्न सक्दैन।’
पाण्डेले पार्टी निर्माण आफ्ना लागि सत्ताको खेलभन्दा समाजका निम्ति गर्ने योगदान गर्ने अभियान भएको बताएका छन्।
‘यसकै लागि आजै बिहान हामीले विवेकशील साझा पार्टीका सम्पूर्ण केन्द्रीय समिति सदस्यसमेत सहभागी २०१ सदस्यीय ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ को केन्द्रीय समिति घोषणा गरेका छौँ’, उनले थपेका छन्, ‘यो कुनै समानान्तर समिति नभई पार्टीलाई अझ सुदृढ गर्ने र तलैबाट पार्टीको जग निर्माण गर्ने मूल कार्यक्रम हो। यो मङ्सिर २४, २०७४ मा भएको पार्टी एकीकरणको मर्म सहितको विवेकशील साझा पार्टीको निरन्तरता हो।’
उनले आफूहरुको विवादलाई कानुनी रूपमा निर्वाचन आयोगले हेरिरहेको पनि बताए। ‘मलाई विश्वास छ, निर्वाचन आयोगमा बुझाइएको किर्ते दस्ताबेजलाई आयोगले खारेज गर्नेछ। त्यहाँबाट न्याय नपाए अदालतले न्याय दिनेछ’, उनले विश्वास लिएका छन्।
उनले मिश्रलाई विवेकशील साझा पार्टीको नाम, चिन्ह र पहिचान प्रयोगको अधिकार पनि नरहेको बताएका छन्।
‘पार्टीको विचार त्यागेका, विधान च्यातेका र एकीकरण घोषणापत्र माथि लात हानेका पार्टीका कुनै पनि नेतालाई विवेकशील साझा पार्टीको नाम, चिन्ह र पहिचान प्रयोग गर्ने कुनै अधिकार छैन’, उनले भनेका छन्,’हामी विवेकशील साझा पार्टीलाई वास्तविक विचार, नाम, शैली र पहिचानमा निरन्तरता दिनेछौँ र पार्टीमा भइरहेका अवैधानिक गतिविधिलाई निस्तेज गर्दै अघि बढ्नेछौँ।’