• मंसिर १८ २०८१, मंगलवार

बाँदर-कुकुर महाभिडन्त : बाँदरको आक्रमणमा मारिए २५० कुकुर

पुष ४ २०७८, आईतवार

रिसाएका बाँदरहरुको भीडले कयौं कुकुरहरुलाई मारिदिएका छन् । यो भारतको खबर हो । महाराष्ट्रको विड जिल्लामा भवनको छत र रुखका टुप्पाहरुमा लखेट्दै लगेर ती बाँदरहरुले कुकुरहरुलाई मारिदिएका प्राप्त समाचारमा जनाइएको छ ।

समाचारमा जनाइए अनुसार कुकुरहरुको एउटा समूहले बाँदरको एउटा बच्चा मारिदिएपछि त्यसको बदलामा ती बाँदरले बदलास्वरुप ती कुकुरहरुलाई मारिदिएका हुन् । मजलगाओन र लभुल गाउँमा बाँदरहरुको एउटा हुलले कुकुर मारिदिएको थियो ।

बाँदरले वरपर भएका कुकुरलाई टोकेर घरको छत तथा रुखको टुप्पोबाट खसालेका थिए । आक्रोशित बाँदरहरुले विद्यालयका बालबालिकालाई पनि लखेटेका थिए । कुकुरहरुलाई देख्ने बित्तिकै बाँदरले अग्लो रुखको टुप्पो वा भवनको छतमा लगेर खसालिदिएको स्थानीयले बताएका छन् ।

उनीहरुका अनुसार बाँदरले पछिल्लो एक महिनामा मात्र २५० कुकुरलाई अग्लो ठाँउबाट खसालेका छन् । आक्रमणबारे सार्वजनिक भएको एउटा भिडियोमा बाँदरले निर्दयी ढंगले एउटा कुकुरको बच्चालाई टोकेर घरको छतमा पुर्याएर त्यहाँबाट खसालेको देख्न सकिन्छ ।

बाँदरलाई नियन्त्रणमा लिन स्थानीयले वन विभागका अधिकारी गुहारेका भएपनि विभागबाट खटिएका कर्मचारीले बाँदर नियन्त्रण गर्न नसकेपछि उनीहरु रित्तै हात फर्किएका थिए । स्थानीयका अनुसार बाँदरहरुले कुकुरमाथि अझै बदला लिइरहेका छन् ।

केही कुकुरहरुले बाँदरको एउटा बच्चा मारिदिएपछि बाँदर योजनाबद्ध ढंगले प्रतिकारमा उत्रिएका हुन् । विभागका कर्मचारीहरुले बाँदरलाई नियन्त्रणमा लिन नसकेपछि स्थानीयले नै कुकर जोगाउन थालेका छन् । बाँदर देख्ने बित्तिकै उनीहरुले भगाउनेदेखि कुकुरलाई सुरक्षित क्षेत्रमा पठाउन थालेका छन् । (एजेन्सी)