जाजरकोट । गहुँखेतीका लागि भारी मात्रामा मलको माग भए पनि पालिकाले सिफारिस दिन आँनाकाँनी गर्दा कृषकले मल पाउन नसकेका हुन् ।
मल खरिद गर्नका लागि संघ, संस्था र सहकारी छनोट गरी केन्द्रमा सिफारिस गर्ने पालिकाले अझैसम्म सो काम गर्न सकेका छैनन् । जिल्लाका सात पालिका मध्ये नलगा नगरपालिका बाहेक अन्य पालिकाले कुनै पनि प्रक्रिया सुरु नगरेको पाइएको हो ।
आफू अनुकूलको संस्था, सहकारी खोज्दा काम सुरु हुन नसकेको हो । विगतमा कृषि विकास कार्यालयमार्फत खरिद हुँदै आएको मल अर्ग्यानिक प्रदेश बनाउने योजना प्रदेश सरकारले लिएपछि कृषि विकास कार्यालयले मल खरिद गर्ने अधिकार कटौती भएको हो ।
अहिले सो काम स्थानीय तहले गर्दै आएका छन् । भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले छिट्टै प्रक्रिया पुरा गरी मल खरिद गर्ने बाटो खुल्ला गरिने बताए । नलगा नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले मल केही दिनमा नगरमा पुगिसक्ने बताए ।
अन्य पालिकाले मल खरिदका लागि कुनै प्रक्रिया सुरु गरेका छैनन् । जाजरकोटमा कूल खेतीयोग्य जमिन २८ हजार हेक्टरमा १० हजार हेक्टरमा गहुँखेती गरिन्छ । अधिकांश ठाउँमा आकासे पानीको भरमा गहुँखेती हुँदै आएको छ ।