मलाई मार्क्सको याद आयो भने
वैज्ञानिक समाजवाद र विश्व साम्यवादको तस्विर देख्छु
मैले मार्क्सको जीवनी पढेर
सर्वहारा वर्गसँग मेल खाने
तस्विरहरु भेटाउँछु ।
मलाई रुसी लेनिनको
याद आयो भने
लेनिनले मार्क्सवादलाई आत्मसात गरेर
रुसी जारशाहको सत्ता कब्जा गरेको इतिहास सम्झन्छु ।
लेनिनको जीवनी पढें भने
रुसी उत्पीडित जनतालाई लेनिनले
वैज्ञानिक समाजवादी व्यवस्था लागू गरेको इतिहास भेटाउँछु ।
मलाई माओको याद आयो भने
जनवादी व्यवस्था प्राप्ति पछिको
अहिले चर्चा कमाइरहेको
विशाल चीनको तस्विर देख्छु
माओको जीवनी पढें भने
चीनका किसानहरुले मुक्ति पाएको
इतिहास भेटाउँछु ।
तर नेपालका कम्युनिष्टहरुको याद आयो भने
एकता, संघर्ष र टुटफुट र
गुटबन्दी भएको देख्छु ।
पुच्छरवादी कम्युनिष्टहरुले
मार्क्स, लेनिनका र माओका
रंगीन तस्विर बेच्नका लागि
पसल थापिरहेको
नाङ्गो चरित्र देख्छु ।
नक्कली कम्युनिष्टको
जीवनी पढें भने
विदेशीका तस्विरहरु बेचेर
आफ्ना भुँडीहरु भरेको देख्छु ।
विदेशीले दशगजामा आई
सिमा मिच्दा
लडिरहने ती वीर पुर्खाहरु देख्छु ।
तर अहँ
चुइँक्क बोल्दैनन्
अहिलेका
ती शाषक र दास जस्ता मूर्तिहरु
अहँ उठ्दैनन्
ती बेचिएका
मुर्दाहरुका तस्विरहरु ।
आफ्नै देशका
नदिनाला बेचेर
घिच्नुसम्म घिचेर
अझै पुगेन अरे ब्वाँसाहरुलाई
एमसीसीको तस्विर ल्याएर
फेरि बेच्न खोज्दैछन् दलालहरु
अहँ कदापि समर्थन गरिंदैन
विदेशीहरुले थुकेको त्यो थुक
बरु आवेगले मेरो
नसानसामा रगत उम्लन्छ ।
अनि त
भन्न मन लाग्छ अमेरिकी
उत्तर साम्राज्यवाद मुर्दावाद
राष्ट्रघाति एमसीसी खारेज गर
बरु विदेशी हस्तक्षेप विरुद्ध
लड्ने प्रतिबद्धता जाहेर छ
राष्ट्र र राष्ट्रियता बचाउन
चढाउने इच्छा छ पसिना र रगतको बलिदान ।
मलाई भारतीय
राष्ट्रिय काङ्ग्रेसको
याद आयो भने
भारत स्वतन्त्र भएको
ती तस्विर देख्छु ।
मलाई नेपाली काङ्ग्रेसको याद आयो भने
वीपीले भने झैं चिटिक्कको घर,
जनताको जग्गामा
एकएक हल गोरु
जनताले नै जोतिरहेका
तस्विर देख्छु ।
मैले नेपालका काङ्ग्रेसीहरुको
जीवनी पढेर
वीपीका तस्विरहरु
महङ्गोमा बेचिरहेको
आफ्ना भुँडीहरु
भरिरहेको देख्छु ।
अझ परपर हेर्दा
जुम्ला बजार भित्रका
फोहोर नै फोहोरका धुमहरुसँग
तुलना गर्छु एकछिन
वीपीको आत्मकथा र विद्रोहका दस्तावेजहरु
यो मैले देखेको पक्क हुँदै हैन बडाहजुर
दोषी चश्माले देखेको हो ।
एक लाखमा एक मुर्दा किन्न
पाइन्छ अरे त्यो घोषणा पत्रमा
यो मैले भनेको पक्कै हुँदै हैन
त्यो त मैले
दास किनबेच हुने
दास महलमा पढेको हुँ ।
मेरो देशमा रंगहीन व्यापारीहरुको
रंगिन विदेशीका तस्विरहरु बेच्ने
प्रतिस्पर्धा तिव्ररुमा चलिरहेको छ
मदनलाई बेचेर सदनमा छिरेकाहरु
रोदन सुनाइरहेका छन्
यी दोषी कानहरुलाई ।
कहिलेकाही मलाई
फोहोर नै फोहोरसँग
बगिरहेको बागमती नदिको तस्विरको आद आउँछ
त्यसपछि मलाई
भन्ने मन लाग्छ थुक्क
संसदीय व्यवस्था त फोहोर नै फोहोरको
डुङ्गुर रहेछस् ।