• बैशाख १० २०८२, बुधबार

शिर झुकाएर बस्न किन नपरोस्, नेपालसँग सम्बन्ध टुट्न दिँदैनौँ : भारतीय रक्षामन्त्री सिंह

पुष १ २०७८, बिहीबार

काठमाडौँ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्धनलाई कुनै पनि हालतमा टुट्न नदिने बताएका छन् । बुधबार उत्तराखण्डको देहरादूनमा आयोजित एक कार्यक्रममा उनले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताए ।

‘उत्तराखण्डको सीमा नेपाल र तिब्बतसँग जोडिन्छ। जहाँसम्म नेपालको प्रश्न छ, नेपालसँग हाम्रो रोटी र बेटीको सम्बन्ध छ। नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ,’ सिंहले भने, ‘म तपाईंहरूलाई यो जानकारी दिन चाहन्छु, केही तत्वहरू यस्ता छन् जो नेपाल र भारतको सम्बन्धलाई खराब गर्न चाहन्छन्।’

उनले नेपाल-भारत सम्बन्ध बिगार्न चाहने तत्व को हुन् भन्ने खुलाएनन्।

‘सरकारको प्रतिनिधि हुनुको नाताले म भन्न चाहन्छु चाहे जेसुकै होस्, हामीले शिर झुकाएर बस्नु किन नपरोस्, छिमेकी नेपालसँगको सम्बन्ध हामी कहिल्यै फुट्न दिने छैनौं। नेपालसँगको सम्बन्ध कहिल्यै बिग्रन दिने छैनौं,’ सिंहले भने।

त्यसपछि उनले लिपुलेक जाने बाटोको कुरा गरेका थिए। लिपुलेक नेपाली भूमि हो। पछिल्ला केही दशकदेखि त्यहाँ भारतको नियन्त्रण छ। पछिल्लो समय भारतले लिपुलेकसहितको भूभागलाई आफ्नोमा राखेर नक्सा जारी गरेको थियो भने लिपुलेकसम्म पुग्ने सडक उद्घाटन गरेको थियो।

त्यसपछि नेपालले लिपुलेक लगायत नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको थियो । यसै विषयमा दुइ देशबीच सम्बन्ध चिसिए पनि त्यस विषयमा दुई देशबीच वार्ता हुन सकेको छैन ।