• फाल्गुन २३ २०८२, शनिबार

देश अर्थात् लालपूर्जा

मंसिर २८ २०७८, मंगलवार

उसलाई
दार्जिलिङ्ग चाहिएको छ
तर गोर्खालीहरू चाहिएको छैन ।
आसाम चाहिएको छ
आसामी चाहिएको छैन
पूर्वोत्तरका सातै बहिनी चाहिएको छ
तर एकजना पनि बासिन्दा होइन
ऊ तिनीहरूलाई थुन्न चाहन्छ
कन्सन्ट्रेशन सेन्टरहरूमा
र सुख भोग गर्न चाहन्छ सातै बहिनीसँग ।
उसलाई
आन्ध्र प्रदेश, उडिसा
र झारखण्ड चाहिएको छ
दण्डिकारण्य सबै चाहिएको छ
कोइला, युरोनियम र फलाम चाहिएको छ
जङ्गल चाहिएको छ
बचाउन होइन
लकडीको ब्यापार गर्न
र अर्को मरुभूमि जन्माउन
त्यहाँका
सबै सबै कुरा चाहिएको छ
तर त्यहाँका एकजना पनि आदिवासी होइन
ऊ तिनीहरूलाई
नक्सलीको नाममा नामेट पार्न चाहन्छ ।
उसैलाई
जम्बू चाहिएको छ
कश्मिर चाहिएको छ
लद्दाख चाहिएको छ
त्यहाँको
एक एक चिम्टी माटो चाहिएको छ
एक एक इञ्च जमीन चाहिएको छ
तर एक जना मान्छे पनि चाहिएको छैन ।
पूर्वोत्तरमा ऊ
चीनसँग सिँगौरी खेल्छ
लद्दाखमा ऊ
लाप्पा खेल्छ
जम्बू कश्मिरमा ऊ
काग समेत मार्छ र हल्ला गर्छ
बन्दे मातरमको गीत गाउँछ
कश्मिरीहरूलाई घरघरमा थुनेर
घरघरबाट थुतेर बेपत्ता बनाएर
ऊ कश्मिर आफ्नो पार्न चाहन्छ
तर कश्मिरीलाई दुश्मन मान्छ ।
यता पनि छ
उसैको गोत गएको शासक
र उसका भक्तगणहरू छन
जो पृथ्वी नारायणको तरबारबाट जन्मे
आमाको गर्भबाट होइन
जसले महेन्द्रीय पाठशालामा पढे
श्रीमान् गंभीर नेपाली ।
तिनीहरू जुनसुकै झण्डा बोकुन्
तिनीहरू जुन सुकै वाद मानुन्
ती अन्तमा उस्तै निस्कन्छन्
ती एउटै गीत गाउँदै निस्किन्छन्
तिनीहरूलाई पनि
मधेशमै बिर्ता चाहिन्छ
गुमेको गह्रो फिर्ता पनि चाहिन्छ
मधेश सग्लै चाहिन्छ
तर एकजना पनि मधेशी होइन ।
तिनीहरूलाई
दशगजाको खुब चिन्ता छ
तर दुःखीलाल सदाको चिन्ता छैन
तिनीहरूलाई
लिपुलेक सम्मैको पीर छ
तर पश्चिमका बासिन्दाको हैन
तिनीहरू
हिमाल नाम सुन्नासाथ नमस्कार गर्छन्
तर तिनीहरू
हिमाली मान्छे देख्नासाथ
ऊ यती आयो भन्छन्
तिनीहरू हिमाल कब्जा गरेर
यतीलाई राखेर चिडियाखानामा
पर्यटन प्रवद्र्धन गर्न चाहन्छन् ।
उता भारत
भारतबाट इन्डिया हुँदै
हिन्दूस्तानमा बदलियो
यता नेपाल
दिव्यउपदेश कण्ठस्थ पारेर
असली हिन्दूस्तान बन्न खोज्दैछ ।
देश भन्नु पनि
लालपूर्जा रहेछ शासकहरूको
बेदखल गरेर बासिन्दाहरूलाई
ती फैलाउन खोज्ने रहेछन् आफूलाई ।