काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ । काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा बिहान ८ बजेदेखि मतदान हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ । सभापतिसहित १ सय ३४ पदका लागि हुने निर्वाचनमा ४ सय ९० जना प्रतिस्पर्धामा छन् ।
५ सय ४८ जनाले शनिबार विभिन्न पदमा उम्मेदवारी दिए पनि सभापति र सहमहामन्त्रीका एकएकसहित ५८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश नम्बर २ बाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । उनीहरू दुवै देउवानिकटका हुन् ।
अब १ सय ३२ पदमा मात्र निर्वाचन हुनेछ । सभापतिमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई समर्थन गर्दै आइतबार फिर्ता लिएका छन् ।
अब सभापतिको प्रतिस्पर्धामा शेरबहादुर देउवा,शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ छन् । वर्तमान सभापतिसमेत रहेका देउवा सोमबार हुने निर्वाचनबाटै परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् ।
अन्य प्रत्याशी भने देउवालाई पहिलो चरणमा रोक्ने कसरतमा जुटेका छन् । पहिलो चरणमा देउवालाई रोक्दै दोस्रो चरणमा उनीविरुद्ध मोर्चाबन्दी गर्ने रणनीति अख्तियार गरेको निकट स्रोतहरूको दाबी छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।