• मंसिर १० २०८१, सोमबार

काँग्रेस महाधिवेशनमञ्चः कम्युनिष्टको व्यंग्यस्थल, कुन नेताले कसको झाँको झारे ?

मंसिर २५ २०७८, शनिबार

काठमाडौं । काँग्रेसको १४औं महाधिवेशनले शुक्रबार कम्युनिस्ट नेताहरूलाई ‘पुनर्मिलन’ गराएजस्तो भयो । काँग्रेसलाई शुभकामना दिन आएका उनीहरू एकले अर्कालाई व्यंग्य गर्न भने छाडेनन् ।

महाधिवेशन उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका बायाँतिर थिए । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल दायाँतिर बसेका थिए ।

प्रचण्ड र ओली कुराकानी गरेजस्तो पनि देखिन्थे । जब कि प्रचण्ड निम्तो पाएर पनि एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा गएका थिएनन् । एमालेले नेपाललाई त निम्तोसमेत गरेको थिएन । यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सँगैको कुर्सीमा बसेका थिए ।

जब कि यी दुई नेता पनि पार्टी विभाजन गरेर अलगअलग भएका हुन् । त्यसमाथि राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति ओली र प्रचण्डले रोष प्रकट गरे ।

प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति देउवाले पनि कटाक्ष गर्न छाडेनन् । देउवाले भने, ‘एउटा स्पष्ट कुरा के हो भने जुन दिन मेरो सरकार बन्यो त्योभन्दा अगाडिको दिनको डर, त्रास कस्तो थियो हेर्नुस् । म प्रधानमन्त्री भएको भोलिपल्टैै ओलीको शासनबाट मुक्ति पाएजस्तो भयो । जनताले त्यो महसुस गरे ।

देशले नै ओलीको शासनबाट मुक्ति पायो । अब यही स्वतन्त्रतालाई बचाइराख्ने हो भने यो महाधिवेशनले निर्णय गर्नुपर्छ ।’ देउवाले राष्ट्रिय सभा, स्थानीय तह र केन्द्रको चुनाव आउँदै गरेको बताए ।

‘काँग्रेसको सरकार टिकिराख्यो भने मात्र आउँदो सरकारमा गाउँदेखि केन्द्रसम्म काँग्रेसको प्रतिनिधित्व हुन्छ’, उनले भने, ‘तपाईंहरु मलाई सभापतिमा जिताउनुहोस् । स्थानीय र आमनिर्वाचनमा काँग्रेस जिताउने जिम्मा मेरो भयो ।’ उनले काँग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलको लामो भाषणप्रति पनि व्यंग्य गरे । भने, ‘रामचन्द्रजी चिसोले गर्दा बोल्नै सक्नु भएन ।’ यो समाचार अन्नपूर्णपोष्टमा छ ।