• बैशाख ३ २०८२, बुधबार

राष्ट्रियसभा निर्वाचन : पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने

मंसिर २१ २०७८, मंगलवार

काठमाडौं । निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ । मंगलबार आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेल प्रेस विज्ञप्ती जारी गरेर माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरिएको जानकारी गराएका हुन् ।

जारी विज्ञप्ती अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । त्यस्तै, २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको जानकारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘मिति २०७८/१०/१२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनैतिक दलले निर्वाचन प्रयोजनका लागि मिति २०७८/९/१ गतेदेखि ऐ. १० गतेसम्म दर्ता गर्नुपर्नेगरी मिति तोकेको छ ।’

यसका साथै सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने पनि आयोगले जनाएको छ ।