काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका निर्णायक सल्लाहकार तथा पूर्व अध्यक्ष इच्छाराज तामाङ विरुद्ध उजुरी दिनेको संङख्या १५२० पुगेको छ ।
सहकारीका बचतकर्ता दिल्ली प्रसाद भट्टराईले तामाङ सहित श्रीमती सिर्जना शाक्य र तल्कालिन अध्यक्ष केशवलाल श्रेष्ठ विरुद्ध उजुरी दिनेको संङख्या १५२० पुगेको जानकारी दिएका हुन् ।
उनले भने ‘सहकारीका २२ सय बचतकर्ताहरू मध्ये हालसम्म १५ सय २० जनाले उजुरी दिएका छन् । विदेशमा रहेका २० प्रतिशत बचतकर्ताहरूले भने उजुरी दिन पाएका छैनन् ।’
सहकारीका अध्यक्ष श्रेष्ठ र संस्थाका सल्लाहकार तामाङविरुद्ध सङ्गठित अपराध र ठगीको मुद्दा दायर गर्नुपर्ने माग गर्दै सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालतमा अभियोग पत्र पेस गरेको भट्टराइले जानकारी दिएका छन् ।
उनले भने ‘हामीले अदालतमा अभियोग पत्र पेस गरिसकेका छौ जिल्ला अदालतमा सरकारी वकिल र उनीहरूको निजी वकिलबीच थुनछेक बहस हुनेछ ।’ साथै उजुरी दिने १५२० बचतकर्ताले ५ अर्ब ७७ करोड ८० लाख रुपैयाँको बिगो माग दाबी गरेको उनले बताए ।
ठगीको मुख्य योजना तामाङकी श्रीमती सिर्जना शाक्यले गरेको उनले आरोप लगाए । उनले भने ‘ठगीको मुख्य योजनाकार तामाङकी श्रीमती हुन् । शाक्य सरकारी कर्मचारी र इन्जिनियर पनि हुन् ।’ भट्टराईले बचतकर्ताहरूले सहकारीबाट आफ्नो बचतको पैसा नपाउँदा कतिपयको ज्यान गएको समेत बताए । उनले भने, ‘कतिपयले बचतको पैसा नपाउँदा औषधि खान समेत पाएनन् । यति मात्र हैन उपचार र अप्रशेन गर्न पैसा नभएका कारण ८ जनाको मृत्यु समेत भएको छ ।’
उनका अनुसार तामाङले सहकारीबाट ठगी गरेको रकम बिना धितो ३ वटा हाउजिङमा लगानी गर । साथै अपचलन गरेर बाँकी रकम अन्य १८ वटा कम्पनीसँगै २१ वटा निजी कम्पनीमा लगानी गरेका छन् । तामाङले ३ वर्ष देखि बचतकर्ताहरूलाई पैसा दिएका थिएनन् । पैसा नदिएपछि बचतकर्ताहरूले उजुरी दिँदा प्रहरीले सहकारीका सल्लाहकार इच्छाराज तामाङ, तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र १० जना मतियारलाई पक्राउ गरेको छ ।
उनीहरूले लगानी गरेका २१ कम्पनीहरूमा पनि दुई जनाकै शेयर लगानी बढी रहेको भट्टराईले बताए । उनले भने ‘९० प्रतिशत शेयर इच्छाराज तामाङको र १० प्रतिशत शेयर केशवलाल श्रेष्ठको नाममा रहेको छ ।’
भट्टराईले तामाङका ४८ वटा बैङ्क खाताहरू रहेको बताएका छन् । उनले भने ‘शेयर कति छ र कति ठाउँमा जग्गा छ भन्ने यकिन छैन । तर, तामाङले ४८ वटा बैङ्कमा खाता खोलेका छन् ।’ इच्छाराज तामाङ २०५७ सालदेखि २०६७ सालसम्म उक्त सहकारीका अध्यक्ष थिए भने हाल संस्थाको सल्लाहकार रहेका छन् ।
हाल उक्त सहकारीमा अध्यक्ष रहेका केशवलाल श्रेष्ठ सिर्जना शाक्यको मामा रहेको भट्टराइले बताए । उनले भने ‘सिर्जना शाक्य भने संस्थाको लेखा समिति सदस्य हुन् । इच्छाराज तामाङ र शाक्यले भने बमोजिम अध्यक्षले हस्ताक्षर गर्ने गरेका थिए ।’ भट्टराइले इच्छाराज तामाङसँग अहिले २० अर्बको सम्पत्ति रहेको बताएका छन् । कतिपय पैसा अरू कर्मचारीको नाममा राखेको उनको दाबी छ ।