हरेक वर्ष बालाचतुर्दशीका दिन काठमाडौंको माथिल्लो टोलमा ईन्द्रायणी अजिमाको भव्य रुपमा जात्रा गरिन्छ । कान्तिपुरलाई माथिल्लो टोल र तल्लो टोल भनी दुई भागमा विभाजित गरिएको थियो । माथिल्लो टोलमा बस्नेहरुले मान्ने ईन्द्रायणीको जात्रा एउटा ठूलो जात्रा हो ।
माथिल्लो टोलका ठँहिती, त्यौड र ज्याठाका ज्यापुहरुले ईन्द्रायणीको जात्रामा भाग लिन्छन् । यो क्षेत्रमा ईन्द्रायणीलाई अत्यन्तै मान्दै आइरहेका छन् । नेपाल सम्वत् १०५ मा राजा गुणकामदेवले कान्तिपुरलाई मञ्जुश्रीको खड्ग आकारमा निर्माण गरेर स्थापना गरेका अष्टमातृका पीठमध्ये ईन्द्रायणी पनि एक हो ।
ईन्द्रायणीलाई नेपाल भाषामा लुँती अजिमा भनिन्छ । लुँ भनेको सुन, सुन लगाउन नपाएकी भएकोले ‘लुँ ती मदुम्ह’ भन्दै लुँती मरु अजिमा हुन गएको हो भनिन्छ । लुँती मरु अजिमाबाटै ‘लुँती अजिमा’ हुन गयो ।
ईन्द्रायणीको मन्दिर मचाखुसि निर्मल तीर्थमा छ । आठ हात भएकी ईन्द्रायणी देवीको दुई हात अभय मुद्रामा छन् भने ६ वटा हातमा बज्र, खड्ग, पात्र, घण्ट, छत्र, ढाल समाइएको छ । तीन तल्ले पागोडा शैलीको कलात्मक मन्दिरभित्र दायाँबायाँ देवी गणहरु छन् भने दुईवटा हात्तीको आसनमा ईन्द्रायणी देवी विराजमान भइरहेकी छिन् ।
ईन्द्रायणी माता दिदी बहिनीमध्ये एकदम गरीव र बाह्रजना बच्चाहरु भएकाले पनि सबैले हेला गर्दथे । ईन्द्रायणी माताको गहनाको नाममा एक टुक्रा पनि सुन नभएकाले पनि सुन लगाउन नपाएकी देवी भनेर भन्ने गरिएको हो भनिन्छ ।
पाहाँचःह्रे घोडे जात्राको चाडमा माइतीमा भोज खान जाँदा दिदी बहिनीहरुले साह्रै नै हेला गरेकाले भोज नखाइ बच्चाहरुसँगै फर्कनु पर्यो । बाटोमा आइरहँदा फसिकेबमा पुग्दा बाटोमा एउटा फर्सी झरिरहेको देखी बच्चाहरुलाई त्यही फर्सी उसिनेर खुवाउनु पर्ला भनि घरमा लगिन् ।
घर पुगेपछि त्यो फर्सी सुनमा परिणत भएकाले ईन्द्रायणी धनी हुन्छिन् । धनी भइसकेपछि ईन्द्रायणी माइतीमा फेरि चाडमा भोज खान जाँदा सबैले सम्मान गरेछन् । पहिला आफू गरीब हुँदा भोज खान जाँदा सबैले हेला गरेर कसैले वास्ता गरेका थिएनन् ।
आफ्ना बच्चाहरुले भोक लाग्यो भनेर कराइरहे पनि भोज नखुवाएको कुरा संझेर ईन्द्रायणी माताले र बच्चाहरुले लगाइरहेका झिलीमिली गहना र लुगाहरुमा भोज भागका खाद्य पदार्थ दल्न थालेछन् । ईन्द्रायणीका दिदी बहिनीले देखेर यो के गरिरहेको भनी सोध्दा पहिला म गरीब भई कमजोर भइरहेको बेलामा तिमीहरुले हेला गरेर नखुवाइकनै फर्काएका थियौ ।
यो भोज र मान सम्मान मेरो लागि होइन रहेछ । यही गहना र लुगाको लागि मात्र रहेछ भनेर गहना र लुगालाई नै भोज खुवाइरहेको भनी जवाफ दिएर त्यहींबाट पाहाँचःह्रे चाड बहिष्कार गरी फर्किइछन् । त्यसै बेलादेखि ईन्द्रायणीको जात्रा बाला चतुर्दशीका दिन मान्दै आएको हो ।
ईन्द्रायणीका दिदी बहिनी भद्रकाली, कंकेश्वरी र नीलकालीका खटजात्रा पाहाँचःह्रेमा सम्पन्न गरिन्छ भने ईन्द्रायणीले पाँहाचःह्रे बहिष्कार गरेकीले पाहाँचःह्रे भन्दा चार महिना अगावै बालाचःह्रेका दिन गरिंदै आएको हो ।
बालाचतुर्दशीका दिन ईन्द्रायणी देवीलाई बोकाको बली दिएर पुजारीलाई थकाली बनाई भोज खाएर सीकाः भू गर्नुपर्छ । ‘सीकाः भू’ भनेको बली दिइएको बोकाको टाउकोको विभिन्न आठ भाग बनाई थकालीदेखि क्रमशः सबैलाई पालैपालो सगुनको रुपमा दिइने हो ।
यो दिन त्यौड र ठँहितीका ज्यापुहरुले केटाकेटीलाई अजिमा ईन्द्रायणी देवीको प्रसादको रुपमा मरःजा भनी दालमा तरकारी लगायत विभिन्न परिकार राखेर खुवाउने गरिन्छ । यो दिन बिहानैदेखि ईन्द्रायणी अजिमाको मन्दिरमा पूजा गर्न आउने र बली दिन आउने भक्तजनहरुको भीड लाग्छ ।
ईन्द्रायणीका साथै स्वाहा (शोभा) भगवती, क्षेत्रपाटीका स्वाँ छपु गणेश, धोवीचौरका भुँडे गणेश, मजिपाटका ज्वालामाई, नरदेवीका मांखचा अष्टमातृका देवीहरुको पनि जात्रा गरिन्छ । बेलुका ईन्द्रायणीको खटसँगै यी सबै देवताका खट पनि जात्रा गर्दै ठँहितीमा पुर्याएर बिसाइन्छ ।
ईन्द्रायणीको खटसँगै शोभाभगवती, स्वाँ छपु गणेश, भुँडे गणेश, ज्वालामाइका खटहरु लस्करै ठँहितीमा राखिन्छ । भोलिपल्ट बिहान अर्थात् औंशीका दिन ठँहितीमा भक्तजनहरुले पूजा गर्न आउँछन् । यी देवताका खटमा पूजा गर्ने कार्य सकिएपछि खटजात्रा गर्दै आआफ्ना देवघरमा लगेर राख्छन् । यसरी जात्राको समापन हुन्छ ।