• फाल्गुन २३ २०८२, शनिबार

मानिसको गिदीखाने बालासुर राक्षसको कथा

मंसिर १७ २०७८, शुक्रबार

प्रेममान डंगोल
परापूर्वकालमा एक पटक पशुपतिको मसान घाटमा लाश जलाइरहेको बेलामा गुथियारहरुले खाजा खाइरहँदा जलाइरहेको लाशको टाउको अपरझट पड्केर गुथियार बालानन्दले खाइरहेको खाजामा गिदी उछिट्टिएर पर्न गएछ । तर बालानन्दलाई यो कुरा थाहा थिएन । बालानन्दले खाजा खाने क्रममा चिउरा मासुसँगै त्यो मृत मान्छेको गिदी पनि खाइदिन्छन् र रक्सी पनि पिउँछन् ।

पछि बालानन्दले थाहा पाउँछन् कि उनले त मरेको मान्छेको गिदी पो खाएका रहेछन् भनेर । तर उनलाई साह्रै मीठो लाग्छ । पछि बालानन्दले पशुपतिको मसानमा गएर मरेका मानिसहरुको गिदी खान थाल्छन् । सुरुमा त बालानन्दले पशुतिको मसान घाटमा बसेर लाश जलाउने र मसानमा सफा सुग्घरको काम गर्न थाल्छन् । लाश जलाउन ल्याउनेहरुले बालानन्दलाई मरेका व्यक्तिका लुगा कपडा र पैसा पनि दिन थाल्छन् ।
लाश जलाउँदै गर्दा बालानन्दले लाशको गिदी खान थालेछन् । साथै, लाशको मासु पनि खान सुुरु गरेछन् । बालानन्दले यसरी मरेका व्यक्तिको गिदी र मासु खाँदाखाँदै उनको टाउको चाँदीजस्तै चम्किलो देखिन थालेछ । अनि उनको नाम बालानन्द होइन, बालासुर रहन गएछ ।

मानिसको मासु खाने बालानन्दलाई राक्षसको रुपमा बालासुर भनी सबैले भन्न थालेछन् । त्यसपछि उनलाई लाश जलाउने काम पनि दिइएनछ ।
मरेका मानिसका गिदी र मासु खान पल्केका बालासुर राक्षसले त्यहाँ जलाउन ल्याएका लाश मसानघाटसम्म पुग्नु अगावै बीच बाटो बाटै खोसेर जंगलमा लगी खाने गर्न थाले छन् ।

बालासुरले यसरी दुःख दिएकाले सबै जनता मिलेर त्यस बेलाका राजा भुवन केशरीलाई विन्ति गर्न जाँदा राजाले त्यस राक्षस बालासु्रलाई कसरी मार्न सकिन्छ भनी सरसल्लाह गरेछन् । राजाले गरेको सरसल्लाहको निष्कर्षमा बालासुरको मित वृषसिंह रहेको पत्ता लगाएपछि राजाले वृषसिंहलाई प्रशस्त धनसम्पत्ति दिने लोभ देखाइ बालासुरलाई मार्ने आदेश दिएछन् ।

राजाको आज्ञा पूरा गर्न वृषसिंहले आफ्नो मित बालासुरलाई मार्ने शक्ति प्राप्त गर्न पशुपतिनाथको तपस्या गरेछन् । वृषसिंहलाई पशुपतिनाथले दर्शन दिइ मैले तिमीलाई बालासुरलाई मार्ने शक्ति दिन्छु तर तिमीले बालासुरलाई मारिसकेपछि उसको टाउकोको मुकुट बनाई मलाई चढाउन ल्याउनु पर्छ भनी अन्तरध्यान भएछन् ।

यसरी महादेवले बरदान दिएपछि वृषसिंहले बालासुरलाई खुवाउन आठजना भरियाहरुलाई जााँड, रक्सी, मासु, चिउरा र विभिन्न परिकार बोकाएर बालासुर लुकिरहेको वनमा जाएछन् । अघिअघि वृषसिंह र पछिपछि भरियाहरुले खाद्य परिकार बोकेर आइरहेको टाढैबाट देखेर बालासुर घेरै हर्षित हुन्छन् ।

बालासुरले आफ्नो मित आएकाले स्वागत गर्दै खुशी हुँदै मितले ल्याएको खाद्य जाँड, रक्सी खाएर रक्सीले मात्तिन्छन् । अनि वृषसिंह र भरियाहरु मिलेर बालासुरलाई डोरीले बाँघेर नजिकैको इनारमा खसालेर मारिदिन्छन् । त्यसपछि वृषसिंहले बालासुरको टाउको छेदन गरेर टाउकोको मुकुट बनाएर पशुपतिनाथलाई चढाउँछन् ।

वृषसिंहले महादेवसँग मित मारेको पापबाट मुक्त हुने वरदान माग्छन् । त्यति बेला महादेवले वृषसिंहलाई बालासुर मारेको दिन बालासुरको टाउकोको मुकुट बनाएर मलाई लगाइदिएर पूजा गरेकाले मित मारेको पापबाट मुक्त भइसकेको बताएछन् । यसरी पशुपति महादेवले बालासुरको मुकुट पहिरेको दिन कसैले महादेवको दर्शन गरेर सत्बीज छर्छ भने उसको सात पुस्तासम्मले मोक्ष प्राप्त गरेर स्वर्गमा जानेछ भन्ने मान्यतासँगै बालाचतुर्दशी मनाउन थालिएको हो ।

बालासुरको नामबाटै बालाचःह्रे अर्थात् बालाचतुर्दशी हुन गएको हो । गैर नेवारहरुले पनि बालाचतुर्दशी भन्न थाले र नेवारी संस्कारलाई नै अपनाएर पितृ मोक्षका निम्ति बाला चतुर्दशी मान्दै आएका हुन् । यो दिन सत्बीज छर्ने भन्दै धान, गहुँ, चामल, मकै, भटमास, मास, लाबा, रायो, सर्स्यु, कालो तील, जौ, सानो केराउ, ठूलो केराउ, नौथरि गेडागुडी र केरा, सुन्तला ससाना टुक्रा पारेर काटेको उखुका टुक्राहरु पनि बिउका रुपमा पशुपति, गह्येश्वरी क्षेत्रका वनमा छरेर बाला चतुर्दशी मान्ने गरिन्छ । दिवंगत भइसकेका पूर्खाका नाममा यसरी सत्बीज छरेर उनीहरुको उद्धार होस्, सुखावति भूवनमा वास होस् भनी कामना गरिने हो ।

बाला चतुर्दशीका दिन श्रृष्टिकर्ताको प्रतीकका रुपमा लिइएको शिवलिङ्ग र श्लेषमान्तक वन, मृगस्थली र गुह्येश्वरी क्षेत्रमा मृतकका नाममा सत्बीज छर्ने गरिन्छ भने अघिल्लो दिन राती त्यहीं वास बस्ने र रातभरि जाग्राम बसेर लाखवत्ति बाल्नेहरु त्यतिकै भइरहन्छन् । यसरी लाखवत्ति बाल्ने र वत्ति बालेर बसेकाहरुले दिवंगतहरुका आत्मा र परमात्मालाई संझने गर्दछन् ।