दीर्घ समयसम्मको नीतिलाई अंगाल्नेको नाम नेता हो । सृष्टिको उषाकालमै आरम्भ भएको वेदमा नीति, राजनीतिको कुरा छ । राज्य शासनका विधान र राज्य भनौँ देशमा बस्ने नागरिकहरुको खुसी, सुख र समृद्धिका लागि राज्यले सञ्चालन गर्ने नीति नै राजनीति हो । लोकहित र लोककल्याण यसको उद्देश्य हुन्छ, हिजो आजको भाषामा प्रजातन्त्र वा लोकतन्त्र जे भने पनि प्रजा हित नै हो, प्रजाको अर्थ हुन्छ प्राणी अर्थात् राज्यले नागरिक मात्रै नभएर समस्त प्राणी हितका कार्य गर्नु पर्ने हुन्छ । पृथ्वीका समस्त प्राणी संरक्षित भएनन् भने विश्व्यापी समस्या, जलवायु परिवर्तन, प्राकृतिक संकट देखापर्छ र आधुनिक युगमा अनेकानेक संगठनहरु बनेका छन् यसका लागि । मानव कल्याण, शान्तिका लागि संयुक्त राष्ट्र संघ, व्यापारका लागि विश्व व्यापार संगठन, स्वास्थ्यका लागि विश्व स्वास्थ्य संगठन भनौँ विषयपिच्छेका संघ संस्थाहरु जीवन्त छन् ।
पूर्वीय दर्शनले लोका समस्ता सुखिनो भवन्तू भनेको छ, अर्थात् लोकभरिका सबै सुखी रहून् । प्रजा सुखे सुखं राजा भनेको छ, यहाँ राजाको अर्थ हुन्छ, राज्य । देशभित्रका आम नागरिक सुखी, खुसी रहे देश नीति भनौँ राजनीति वा नीति अँगाल्ने त्यो राज्य सुखी र समृद्ध हुन्छ । राजनीतिलाई मार्ग निर्देश गर्ने कौटिल्य नीति, चाणक्य नीति, विदुर नीति, वेद नीति, जनक नीतिको अध्ययन आबश्यक छ, राजा भातृहरिको वैराग्य शतक, बुद्धिलाई विवेकले प्रयोग गर्ने नीति विवेक चुणामणिको अध्ययन आवश्यक छ । मानव मस्तिष्कको परिणाम विज्ञानको बुद्धिलाई सही प्रयोग गर्न मानव ह्रदय विवेकको आवश्यकता हुन्छ । विवेक बिनाको विज्ञानको प्रयोग भनेको हिरोसिमा, नागासाकीको बम प्रहार हो र अमेरिकी ट्वीन टावरको हवाइ प्रहार हो, विज्ञानको सदुपयोगका लागि अध्यात्म ज्ञान हुनु आवश्यक छ ।
वेदले ब्राह्मणको चर्चा गरेको छ, ब्राह्मण भन्नु प्रज्ञा हो, प्रज्ञाचक्षु जसको खुलेको हुन्छ, उही ब्राह्मण हो, कुलिन वा जन्म कुलको आधारभन्दा पनि ज्ञानको आधारले ब्राह्मण हुने हो । वेदमा भनिएको छ, जन्मना जायते शुद्र कर्मणा द्धिज उच्यते वेदाध्यायी भवेत् विप्र ब्रह्म जानाति ब्राह्मण । अर्थात् आमाको गर्भबाट जन्मिदा सबै अशुद्ध नै हुन्छन्, संस्कार र तिनका कामले द्धिज हुने हो, अर्थात् संस्कारले अर्को जन्म, भनौँ जब ज्ञानको आरम्भ हुन थाल्छ ऊ विप्र हुन्छ र ब्रह्म अर्थात् सम्पूर्ण लोक, धर्ती, भनौँ खगोल, भूगोल संसारका सबै कुरा जीव, जगत, जन्म, मृत्यु सबै जान्न सक्ने हुन्छ त्यो ब्राह्मण हुन्छ । यसैले ब्राह्मण भनेको प्रज्ञाचक्षु हो र यो एउटा पदवी हो । श्रीराम, श्रीकृष्ण या बुद्ध जन्मले ब्राह्मण होइनन्, रामका गुरु विश्वामित्र, महाभारतका विदुर हाम्रै खप्तड स्वामी, शिवपुरी बाबा, प्रपन्नाचार्यको नाम सबैले लिन्छन् ।
ब्राह्मण कुलमै जन्मेको रावण, कुम्भकर्णको नाम लिन रुचाइँदैन । अति घमण्डका कारण रावणको लंका जलेको प्रसंग त्रेता युगको कुरा भयो । विदुर दासी पुत्र हुन्, वेदका रचयिता व्यास उनका पिता पराशर, उनका पनि पिता वशिष्टको आदिमक्षेत्र हो हाम्रो भूमि नेपाल, वैदिक सनातन भूमि नेपालमा जे छ संसारमा छ, यहाँ जे छैन संसारमा छैन । आज वेदमा रहेका तर ओझेल परेका विषयलाई खोज्दै नासाले अन्तरिक्षको अध्ययन गर्दैछ । जर्मनी लगायत पश्चिमाहरु धेरै सिक्दैछन् यस बारे, हाम्रो ऋग्वेद, यजुर्वेेदले पृथ्वी शान्ति, अन्तरिक्ष शान्ति, आप शान्ति, औषधय शान्ति भनी सृष्टिको आरम्भमै भनेको हो र भागवतमा सजिलो गरी सम्पूर्ण लोकालोकको वर्णन गरिएको छ, सबैको चक्षु ज्योति भनौँ ज्योतिष शास्त्रको वर्णन यसैमा छ । ऋतु, काल गणना, हावापानी, जलवायु शुद्धि, मानव कल्याण र समग्रमै लोक कल्याणका लागि परोपकार पुण्याय पापाय परपीडनम् भनेको छ । हामीले देखेको विश्वभन्दा अरु धेरै विश्व यहाँ रहेको चर्चा छ । विज्ञानले पनि आज सबै कुरा पत्ता लगाइसकेको छैन ।
हाल कलियुगमा हाम्रो देशको नाम नेपाल रहेको छ भने आजभन्दा ५ हजार वर्ष पहिले द्वापर युगमा यसको नाम मुक्तिपुर थियो । त्यतिबेला राजपाठ चलाउने काष्ठमण्डपका राजा यलम्बरले महाभारत युद्धमा कौरव पक्षलाई सघाउने प्रण गरे, पाण्डव पक्षको हार हुने देखेपछि श्रीकृष्णले सुदर्शन चक्रले यलम्बरको शिरच्छेदन गरेपछि त्यसै शिरले आकाशबाट युद्ध हेरि रहेका उनको शिर काठमाडौँमा खसेपछि आकाश भैरबको नामले किर्ति रही हालसम्म काष्ठमण्डपमा यिनको मूर्ति, मन्दिर रहेको भनाइ छ, पूजा हुने गरेको छ । १२ लाखभन्दा बढी वर्ष पहिलेको त्रेतायुगमा हाम्रो देशको नाम तपोवन रहेको र यहाँ खासगरी जनकपुरमा राजर्षी जनकले राजपाठ गरेको, कृषि कार्य गर्दै जाँदा जानकीलाई भेटिएको र अयोध्याका नरेश दशरथपुत्र श्रीरामसँग विहे गराएको प्रसंग जोडिँदै हालसम्म पनि मार्ग शुक्ल पञ्चमीमा सीता रामको भव्य विवाह महोत्सव मनाइँदै आएको छ, विषय पुरानो भए पनि ताजै छ ।
करोड वर्षअघिको यहाँको नाम सत्ययुगमा सत्यपुर रहेको र समुद्रमथनमा हलाहल विष निस्कँदा शिवजीले त्यो पिएर छट्पटी हुँदा चिसो र शान्त स्थान हालको रसुवाको गोसाइँकुण्डमा आराम गरेको चर्चा छ । विष खाएर ढल्दा नीलकण्ठ नामले सुतेको भनिएको शिला काठमाडौँको शिवपुरी फेदमा अहिले पनि भव्य मेला लाग्दै आएको छ, बूढानीलकण्ठमा । ब्रह्मा, विष्णु, महेशको संयुक्त नाम मुक्तिक्षेत्र मुस्ताङमा विश्वका धेरै मानिस खनिने गर्छन् । त्यहीँबाट भनौँ दामोदर कुण्डबाट निःसृत नदी कालिगण्डकीमा पाइने विष्णुको शिला कालो पत्थर शालिग्राम संसारकै उदाहरण बनेको छ ।
वेदमा वर्णित देवताहरुले नित्य स्नान गर्नेक्षेत्र देवघाटधाम नारायणी भन्नु शिवगंगा त्रिशूली र विष्णुगंगा गण्डकीको संगमस्थल हो, जो चितवनको नारायणीहुँदै नवलपरासीको त्रिवेणीधाम, पारिपट्टी वाल्मीकि आश्रमलाई सिञ्चित गर्दै परतिर पुग्छिन् । सत्ययुगकै बाराह अवतार भई श्रीवष्णुले बँदेलको अवतार लिई पूर्वको कौशिकी तटमा विश्राम लिएको क्षेत्र चतराधाम बाराहक्षेत्र यहीँ छ । जसको आसपास शिवप्रिया सतिदेवीको दन्त पतन क्षेत्र दन्तकाली, बूढासुब्बा,अलिक वरतिर श्रीरामले आगोको धुनी लगाएको क्षेत्र रामधुनी अहिले पनि जीवन्त छ । जनक, वशिष्ठ, विश्वामित्र, पराशर, व्यासभूमिक्षेत्र सधैँ पावन हुनु जरुरी छ, शान्त पनि । दमौलीको सेती, मादी नदीका बीचमा मत्स्यगन्धाबाट पराशर ऋषिले व्यासको जन्म दिएका र अट्ठाइसौँ व्यासस्थली व्यास गुफा दमौलीमा रहेको छ । यस अर्थमा वेद व्यासकी ममतामयी माता ब्राह्मणी नभएको स्पष्ट हुन्छ ।
हिजोआज लोकतन्त्रका सम्बाहकहरुले जात जाति वा धर्मको नाममा राजनीति गरेका देखिन्छन् । हो, राजनीतिमा धर्म नीति हुनु पर्छ, धर्म हराउँदा सबैकाम अधुरो हुन्छ, निस्प्रयोजन हुन्छ, मारकाट मात्र हुन्छ, एक अर्कामा विश्वास हुन्न, सदा देशमा संकट हुन्छ, जनता भोका हुन्छन्, परचक्रीले शिर उठाउँछ, भीखमंगाले अरुले जे भन्यो त्यही सहनु पर्छ, तर राजनीतिकर्मीले जातजातिमा वा लिंग वा दलित भनी हेला गर्नुहुन्न । कोही संसारमा दलित हुँदैन, अपहेलित हुँदैन, त्यसको लागि राज्यले कानुन मात्रै बनाएर पुग्दैन, दैवी, वेद र ईश्वरीय राजमा कोही तलमािथ भन्ने हुन्न । आज हामी समाजवाद, साम्यवाद भन्छौँ, समानताको कुरा गर्छौ, तर विभेद भएको छ, हो मान्छे आफैले गरेको विभेद हो । कार्य क्षमता, कामको अवसर, सबैतिर न्याय, उचनीच रहित समाजको निर्माण र सभ्यता बनाइराख्नु देश नीतिको काम हो, यसैलाई राज्य नीति भनिएको हो र सबैको मियो राजनीति हो ।
झुठा आश्वासन, क्षणिक लाभको पोको देखाएर समाजलाई विखण्डन गर्नु हुन्न, इमान्दारिता, सहिष्णुता, नैतिक जिम्मेवारी, निष्ठाको राजनीति गर्नु पर्छ । यो सामाजिक सेवा हो, पैसा र पदको प्रलोभनले इमान्दारिता गुमायो भने अभिभावकत्व हुन्न, राजनीति वा नेताले अभिभावकत्व ग्रहण नगरे आम सर्वसाधारण सडेर जान्छन्, देश पनि बिग्रन्छ, विदेशीहरु हाँस्छन् । हाम्रो लोकतन्त्रका सामु हजारौँ विकृति देखिएका छन्, तपोभूमि नेपाललाई भाषण गर्दा सबैले यो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने भन्छन्, माथि भनिए भैmँ यहाँको कणकणमा त्यो सम्भव पनि छ, तर सत्य र निष्ठाका लागि विकसित देशका नेताहरु वाइबल छोएर शपथ लिन्छन्, यहाँ वेद, गीता, धर्मशास्त्र, शालिग्राम, तुलसी लिएर शपथ खानु पर्नेमा त्यो पर्दैन भन्छन्, हामी भन्दा धेरैपछि मात्र जन्मेका देशहरुको नक्कल गर्दै धर्मनिरपेक्ष भन्छन्, देशमै फाटो ल्याउँछन् ।
राष्ट्रिय धरोहर पशुपतिनाथ लगायत यहाँ रहेका मठ, मन्दिर जीर्णोद्वार गरेरै घmण्डै २ अर्ब हिन्दु संसारलाई पर्यटक बनाउन सकिने कुरामा विश्वास गर्दैनन् । अगुवाहरु नै हत्या, हिंसा, लुटपाटमा संलग्न भएपछि अरुलाई यसो नगर भन्न असहज हुन्छ, मुहान शुद्ध नभई खोला शुद्ध हुँदैन । आपूm मोजमस्ती गर्ने अरुलाई नैतिकताको पाठ सिकाउने वा कानुनको कार्यान्वयन गर भन्न असहज हुन्छ । आधुनिक युगमा पनि विश्वमा चरित्रवान, नैतिक, इमान्दार नेताहरु छन् जसले देशलाई समृद्ध बनाएका छन् । छोटो समयमा देशले कोल्टो फेरेको र कायापलट भएका उदाहरण संसारमा हाम्रै आँखाले धेरै देखेका छौँ ।