• मंसिर १६ २०८१, आईतवार

नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार

मंसिर १३ २०७८, सोमबार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ । चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा उपचारत नेता पुनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको पुनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।

गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगेर सोही दिनदेखि उपचार सुरु गरिएको थियो ।

नेता पुन जण्डिससँग सम्बन्धित एकप्रकारको दुर्लभ रोगबाट पीडित छन्। उनको उपचारमा ३ दर्जनभन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन् । पछिल्लो परीक्षण अनुसार नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस (बिलरुविन) को मात्रा समेत घटेर १८ मा झरेको छ । यसअघि बैंककमा छँदा बिलरुविनको मात्रा २२ थियो । बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने बान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या सुधार भएको छ ।

उपचारमा सहभागी चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएकाे नेता पुनका पूर्वस्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए।