• मंसिर ५ २०८३, शुक्रबार

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल हुने 

मंसिर ५ २०८३, शुक्रबार

काठमाडौं । निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरुसँग छलफल एवं परामर्श सुरु गरेको छ ।

आयोगले आज विभिन्न राजनीतिक दलहरुसँग छलफल सुरु गर्ने भएको छ । सो प्रयोजनका लागि राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरुलाई आयोगले छलफलका लागि आमन्त्रण गरेको छ ।

आयोगले आज बिहान ११ः३० बजे दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आजका लागि राजनीतिक दलहरुलाई छलफलमा बोलाइएको जानकारी दिए ।

प्रवक्ता भट्टराईले भने, “स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि नै उहाँहरुलाई आयोगमा आमन्त्रण गरिएको हो ।”

राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूलाई आज छलफलका लागि आयोगमा आमन्त्रण गरिएको उनले बताए । स्थानीय एवं प्रदेश तहको निर्वाचनका सन्दर्भमा आयोगमा आज ती राजनीतिक दलका प्रतिनिधिहरुसँग आवश्यक परामर्श एवं छलफल हुने भएको हो ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदै छ । त्यसैले आयोगले नयाँ निर्वाचनको मिति घोषणा र निर्वाचनको तयारीका सन्दर्भमा गृहकार्य थालेको हो ।