काठमाडौँ l नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको लोकप्रिय मत २८ प्रतिशतबाट घटेर १४–१५ प्रतिशतमा सीमित हुनुमा आफ्नै कार्यशैली र आन्तरिक कमजोरी जिम्मेवार रहेको स्वीकार गरेका छन् ।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै ज्ञवालीले एमालेको कार्यशैली ‘एलिट’ र चुनावका बेला मात्रै जनतामाझ पुग्ने ‘टुरिस्ट’ जस्तो बनेको बताएका हुन् ।
उनले ठूला होटल र मञ्चमा सीमित हुने, जनतासँग अनौपचारिक संवाद नगर्ने तथा चुनावका बेला मात्रै भोट माग्न जाने प्रवृत्तिले पार्टी जनताबाट टाढिएको बताए ।
ज्ञवालीका अनुसार एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले पार्टीका पाँच प्रमुख कमजोरी पहिचान गरेको थियो ।
सत्ता समीकरणमा बढी केन्द्रित हुनु, जनतासँगको सम्बन्ध कमजोर हुनु, जनसरोकारका मुद्दामा प्रभावकारी हस्तक्षेप गर्न नसक्नु, युवासँग संवाद कमजोर हुनु र आन्तरिक एकता कायम गर्न नसक्नु प्रमुख कमजोरी हुन् ।
उनले पार्टी राजसी र सरकारी शैलीमा अघि बढ्दा जनतामा एमाले पनि अन्य दलजस्तै भएको सन्देश गएको स्वीकार गरे ।
विधान महाधिवेशनपछि उमेर हद, कार्यकाल र पूर्वराष्ट्रपतिको सदस्यतासम्बन्धी विवादले पनि पार्टीको आन्तरिक एकतामा असर पारेको उनको भनाइ छ ।