भोटेकोसीले निम्त्याएको विपद् विशुद्ध प्राकृतिक विपद् मात्र होइन । यो मूलतः जलवायु विपद् हो । विश्वका अति औद्योगिक तथा औद्योगिक देशहरूले हर सेकेण्ड अतिहानिकारक ग्यास कार्वनडायोक्साइड उत्सर्जन गरिहन्छन् । कार्वन उत्सर्जनले वायुमण्डलमा हरेक वर्ष तापक्रमको मात्रा बढाउँदै लगिरहेको छ ।
विश्वमा तापमान बढेसँगै पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा रहेको हिउँको ठूलो परिमाण हिमपहिरो र हिमनदी बनेर हरेक सेकेण्ड पग्लिने र बग्ने गरिरहेको छ । पृथ्वीको तेस्रो ध्रुव मानिएको हिमालय श्रृङ्खलामा पनि ‘ग्लोबल वार्मिङ’ले गर्दा हिउँ पग्लेर हिमपहिरो र हिमनदीको विनाशकारी स्वरूप ग्रहण गर्दै गइरहेको छ । हिमतालहरू निरन्तर फुट्ने प्रक्रियामा छन् ।
यस्ता जलवायु विपत्तिको पहिलो निशानामा हाम्रो देश नेपाल रहेको छ । यही भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी विपत्ति यसैको एउटा कहालीलाग्दो उदाहरण हो । हिमालय शीर रहेको भूपरिवेष्ठित देश नेपाल ‘ग्लोबल वार्मिङ’ का कारण नदीजन्य प्राकृतिक प्रकोपको प्रलयकारी मुखमा परिसकेको छ ।
त्यसैले अब भोटेकोसीमा आएको बाढीबाट भएको क्षतिलाई नेपालले जलवायु न्यायको बलियो मुद्दाका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउन र यसको नेतृत्व गर्न ढिलाइ गर्नु हुँदैन । भोटेकोसीको विपद् जलवायु परिवर्तनका कारण भएको जलवायु श्रेय निर्धारण (क्लाइमेट एट्रिब्युसन) ले पनि पुष्टि गर्दछन् । त्यसैले यो अन्तर्राष्ट्रिय विपद् हो ।
यो अन्तर्राष्ट्रिय विपद्को सामना, उद्धार वा पुनर्निर्माणको काम अन्तर्राष्ट्रिय हातेमालोबाट मात्र संभव छ । वैश्विक तापमान बृद्धि गराउने कारकका भूमिका निर्वाह गरिरहेका अति विकासित देशहरू भोटेकोसी जलवायु विपत्तिका साझेदारहरू हुन् ।
यिनीहरू सबैले हिमाली श्रृङ्खलामा जलवायुजन्य विपद्ले निम्त्याइरहेको जोखिम र सम्भावित जोखिमको भार बहन गर्नुपर्दछ । विपद्का बेला आवश्यक राहतसँगै प्रभावित क्षेत्रको पुनर्निर्माण र दीर्घकालीन व्यवस्थापनका लागि साझेदार सबैको सहकार्यमा अन्तर्राष्ट्रिय नियमित स्रोत परिचालन गरिनुपर्दछ ।
स्रोत परिचालनमा जलवायु परिवर्तनबाट प्रभावित क्षेत्र वा देशमा विकसित देशहरूले मानवीय सहायता, अनुदान सहयोग र सहुलियतपूर्ण ऋण उपलब्ध गराउनु पर्छ । जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुसार ५ वटा सहयोग कोषहरू स्थापना गरिएका छन् ।
यी कोषहरूमा १) हरित जलवायु कोष, २) वैश्विक वातावरण सहयोग कोष, ३) वातावरण अनुकुलन कोष, ४) विशेष जलवायु परिवर्तन कोष तथा ५) जलवायु हानी तथा नोक्सानी भरण कोष रहेका छन् । नेपालले भोटेकोसीको कहरमा जलवायु हानीनोक्सानी कोषबाट मात्रै केही मिलियन अमेरिकी डलर सहयोग पाउन सक्छ ।
यसअतिरिक्त अन्य कोषबाट पनि मनग्यै सहयोग प्राप्त गर्न सक्छ । यसका लागि अत्यन्तै प्रभावकारी र परिपक्व कुटनीतिक पहल नेपाल सरकारको तर्फबाट अघि बढाइनुपर्छ ।
उत्तरी तथा दक्षिणी ध्रुवसिहत पृथ्वीको तेस्रो ध्रुव पनि उत्तिकै जोखिममा छ । प्रत्येक वर्ष तापक्रम बढ्दै गइरहेको छ । नेपाल अत्यन्तै प्रभावित छ, यसबाट । विश्वमा अहिले लु (हिटवेभ : तातो हावाको लहर) बढेर गएको छ । जलवायु परिवर्तनको कहर विकराल हुँदै गएको छ ।
भोटेकोसीले निम्त्याएको कहरलाई नेपाली हामीले एक्लै पार लगाउन सक्दैनौ । यसका लागि द्विपक्षीय, बहुपक्षीय वार्ता, भेटघाट, र पहल जरूरी छ । अन्तर्राष्ट्रिय कोषहरू हुने र गरिने सहयोगको खाँचो छ । यस्तो बेलामा सिङ्गो देश एक भएर दह्रो खुट्टा टेकेर अन्तर्रष्ट्रिय यात्रामा निस्कनु जरूरी भइसकेको छ ।
यति बेला एक्लो बहादुरी देखाएर काम लाग्दैन । प्रभावकारी पहलका लागि नेपालले आसन्न जलवायु सम्मेलन (कोप–३१) का बेला नेपालको तर्फबाट ‘विशेष सेसन’ नै आह्वान गर्न सक्दछ । यसका लागि बेलैमा तयारी र अनुरोध गरिनु पर्दछ ।
भोटेकोसी कहरसँगै नेपाललाई विश्व जलवायु परिवर्तन प्रभावित देशहरूको नेतृत्व गर्ने बाध्यता र अवसर एकैपटक प्राप्त हुन गएको छ ।