• भाद्र १७ २०८३, बुधबार

सेना र विदेशी विज्ञको टोलीद्वारा बाढीप्रभावित जलविद्युत् सुरुङमा खोजीकार्य जारी

भाद्र १७ २०८३, बुधबार

काठमाडौं  l रसुवा र नुवाकोट आसपासका जलविद्युत् आयोजनाका सुरुङ तथा तटीय क्षेत्रमा हवाई र जमिनी माध्यमबाट खोज, उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ।

भदौ १७ गते बिहान ११:०० बजेसम्मको विवरणअनुसार रसुवागढी, लाङटाङ, चिलिमे र त्रिशूली करिडोरका हाइड्रोपावर टनेलमा फसेकाहरूको खोजीका लागि नेपाली सेना र विदेशी विज्ञसहितको संयुक्त टोली खटिएको छ।

उद्धार टोली विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्रका अवरोध हटाउँदै अघि बढेको छ। रसुवागढी हाइड्रोमा टोली टनेलको करिब १५० मिटरभित्र पुगे पनि ठूला चट्टानका कारण ढिलाइ भएपछि पुनः ब्लास्टिङ र मेसिन प्रयोग गरी बाटो खुलाउने काम भइरहेको छ।

यस्तै लाङटाङ हाइड्रोमा विदेशी विज्ञसहित २५ जनाको टोली १५० मिटरभित्र प्रवेश गरिसकेको छ भने चिलिमे र अपर त्रिशूली-१ (हाँकु) मा पनि नेपाली सेनाको टोली निरन्तर परिचालनमा छ।

त्रिशूली-३ ‘ए’ मा नेपाली सेनासहित ९३ जनाको संयुक्त टोली ३ वटा स्काभेटर र १ वटा बोबक्याट प्रयोग गरी माटो पन्छाउन व्यस्त छ। कम्प्रेसर मेसिन, ब्रेकर र ब्लास्टिङ प्रविधिमार्फत अवरोध हटाएर टनेलको ‘आउटलेट’ भेट्याइएको छ।

वर्षाका कारण जमेको १.५ मिटर पानी पम्पमार्फत निकालिएको छ। यस्तै त्रिशूली-३ ‘बी’ मा सेना, गैरसैनिक र आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले कार्यालय र निवास क्षेत्र पहिचान गरी एक्साभेटरबाट बाटो निर्माणलाई तीव्र बनाएको छ।