काठमाडौं । भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि पठाएको १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि नेपाल आइपुगेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त राहत सामग्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’लाई हस्तान्तरण गरेका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत नेपालमा बाढीबाट भएको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै भारतले मानवीय सहायता र आवश्यक औषधि पठाएको जानकारी दिएका थिए। प्राप्त राहत सामग्रीलाई तत्कालै प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ।
नेपालमा भोटेकोसीसहित विभिन्न नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरणको काम जारी रहेका बेला भारतले मानवीय सहयोग उपलब्ध गराएको हो ।