• भाद्र १० २०८३, बुधबार

धादिङमा १८ शव भेटिए ,५ वटा पक्की पुल र ४ वटा झोलुङ्गे पुल बगायो

भाद्र १० २०८३, बुधबार

धादिङ : चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको अकस्मात् बाढीका कारण धादिङको फुर्केखोलास्थित पक्की पुल बगाएको छ।

धादिङबेँसी सदरमुकामलाई पृथ्वी राजमार्ग तथा जिल्लाका विभिन्न क्षेत्र र मुख्य शहरसँग जोड्ने महत्वपूर्ण पुल बगाएपछि सदरमुकामसहित उत्तरी धादिङको यातायात र जनजीवन प्रभावित भएको छ।

बाढीले फुर्केखोला पुलसहित धादिङका विभिन्न स्थानमा ५ वटा पक्की पुल र ४ वटा झोलुङ्गे पुल बगाएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जानकारी दिइन्। उनका अनुसार गजुरीको घाटबेँसी, जहरे, गल्छीको जिन्टेटार तथा गल्छी(नुवाकोट जोड्ने पुललगायतका संरचनामा बाढीले क्षति पुर्‍याएको छ।

यसैबीच बाढीपछि त्रिशूली नदी किनारका विभिन्न स्थानमा १८ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले बताए।

शवको पहिचान तथा घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। बाढीका कारण मलेखु क्षेत्रमा बालुवा चाल्ने क्रममा फसेका तीन जनाको समेत उद्धार गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

‘बालुवा चाल्ने क्रममा धादिङको मलेखुमा फसेका तीन जनाको उद्धार गरिएको छ। उद्धार तथा सुरक्षाका लागि तीनवटै सुरक्षा निकाय परिचालन भएका छन्,’ उनले भने। बाढीका कारण पुल तथा सडक संरचनामा क्षति पुगेपछि धादिङका विभिन्न क्षेत्रको यातायात सम्पर्क प्रभावित भएको छ।