• भाद्र ८ २०८३, सोमबार

नेपालीको बदलिँदो जीवनशैली

भाद्र ८ २०८३, सोमबार

नेपालीको जीवनशैलीमा देखिने गरी परिवर्तन आउन थालिसकेका छन् । यस्ता परिवर्तन ल्याउनमा धेरै कुराले गहिरो भूमिका निर्वाह गरेका छन् । भूमिका निर्वाह गर्ने कतिपय कारक व्यक्त छन् त कतिपय अव्यक्त पनि छन् ।

तर जीवनशैलीमा परिवर्तन एकाएक आउँदैन । परिवर्तन भनेको सामाजिक जीवनका हरेक फाँटमा आउने परिवर्तनहरूको एकीकृत अभिव्यक्ति हो । यो समाज परिवर्तनको बिम्ब हो । सर्वसाधरणका लागि अज्ञेयजस्तै हुन्छ यो । तथापि प्रायः सबैले भन्ने गर्छन्, ‘जुग बदलिएका छन् ।’

जीवनलाई नियाल्ने र परिवर्तनकारी हरेक पक्षलाई परख गर्न सक्ने द्रष्टाले परिवर्तित जीवनलाई अत्यन्तै चासो र उत्साहका साथ नियाल्दै गरिरहेको हुन्छ । जीवनका हरेक पक्षमा एकपछि अर्कोगरी सजीवरूपमा आइरहने परिवर्तनका बान्की मिलेका सप्तरङ्गी छटाहरूले जीवनको स्वरूप र सारमा निरन्तर रूपान्तरण ल्याइरहेका हुन्छन् ।

नेपाली जीवनमा हाल देखापरिरहेका शैलीगत परिवर्तन बढी बाह्य प्रभावित छन् । नेपालीले आफ्नो देशभित्र आफ्नै समाजमा केही नौला सिर्जनात्मक काम गरेर होइन, बरू वैदेशिक अवसरबाट अनुदित सोच र विचारले यस्ता परिवर्तन ल्याइरहेका छन् ।

पहिलो कुरा त साइवर सफ्टवेयरले जुनसुकै देशलाई पनि ‘ग्लोबल भिलिज’मा समाहित गरिसकेको छ । नेपाल पनि यसबाट अछुतो छैन । यसले सबैभन्दा देखिने गरी ल्याएको परिवर्तन राजनीतिक वृत्तमा हो । यसले व्यवहारतः अकल्पनीय परिवर्तन ल्याएको छ ।

पुराना सोच, विचार, सङ्गठन, शैली र तरिका सबैले ‘फ्लप’ खाएका छन् । सामाजिक सञ्जाल आफैमा प्रचार र सङ्गठनमा अब्बल देखिएका छन् । इन्टरनेटले संसारलाई तरङ्गमय बनाइदिएको छ । सोच, विचार र परिकल्पना तरङ्गमा रूपान्तरण यसरी पो हुँदो रहेछ भन्ने कुराको बोध गराएको छ ।

आजको जमाना सूचना र सञ्चारको जमाना हो । हरेक मानिस आफ्नो क्षमता अनुकूल केही न केही सूचना लिएर बसेको हुन्छ । हरेकले आफूले बुझेअनुसार आफ्नो धारणा प्रकट गर्न सक्छ । यसले उसको जीवनशैलीमा नवीनता थपेको छ ।

अहिले वैदेशिक रोजगारीले नेपालीलाई वैश्विक समुद्रमा खेल्ने अवसर प्रदान गरेको छ । यसले नेपालीको सोच्ने क्षमतामा सापेक्ष गुणात्मक भिन्नता ल्याइदिएको छ । नेपालीले अहिले तल्लाघरे, माथ्लाघरे, वल्लाघरे र पल्लाघरे छिमेकीको प्रगतिको डाह गर्न छाडेका छन् । संसार देखेपछि उनीहरूको आँखा र सोच केही ठूला र फराकिला हुन पुगेका छन् ।

अहिले मानिस छिमेकीको प्रगतिको प्रशंसा गर्न थालेका छन् । यति मात्र होइन, छिमेकीसँग सहयोगको आशा र अपेक्षा गर्ने तथा अपेक्षा अनुकूल सहयोग पाउने पनि गरिरहेका छन् । नेपालीले ‘भ्यागुते चिन्तन’बाट माथि उठेर विराट संसार चियाउने यात्रा थालिसकेका छन् ।

परिवर्तित परिवेशले पनि त्यतातिर डोर्‍याइरहेको छ । हिँजो तराइमा जग्गा वा काठमाडौंजस्ता सहरमा घडेरी किन्नु निकै ठूलो कुरा हुन्थ्यो । आजभोलि ‘ग्लोबल माइग्रेशन’ चलिसकेको छ । अमेरिका, बेलायत, अष्ट्रेलियासहितका देशहरूमा बसाइसराइको लर्को लागिरहेको छ । त्यसैले राजधानी सहरमा घरघडेरीका कुरा सामान्य हुन थालिसकेका छन् ।

पहिले छोराछोरीका लागि सम्पत्ति कमाइदिने कुरा ठूलो थियो । तर अहिले पढाइलेखाइमा पैसा खर्चने चलन ब्यापक बनेर गएको छ । कुन छोरालाई कहाँ घर बनाइदिने, कसलाई कहाँ राख्ने भन्ने चिन्ता अबका दिनमा दूर हुन गएको छ । छोरा र छोरीलाई समान आँखाले हेर्न थालिएको छ । समान व्यवहारको प्रचलन पनि बढ्दै गएको छ ।

कमाइ जमाइ छोरीले पनि गर्न थालेपछि लैंगिक परनिर्भरतामा उल्लेख्य कमी आइसकेको छ । पहिले खानाको मात्र कुरा हुन्थ्यो । अहिले कुन गुणस्तरको खाना भनेर ‘क्वालिटी’ मा सोध्न र सोच्न थालिएको छ । प्राङ्गारिक खाना, म्याद रहेको खाना, साधा तर ताजा र सफा आदिमा ध्यान दिन थालिएको छ ।

विदेश बसेर पनि स्वदेशको परिवर्तन र विकासको चासो बढेको छ । पहिले सीमाभित्र खोजिने राष्ट्रियता अब अन्तर्राष्ट्रिय सीमाभित्र पनि खोज्न र रक्षा गर्न थालिएको छ । पुराना सोच र मान्यतामा परिवर्तनको बहस सुरू भइसकेका छन् ।

व्यवहारमा नगदीकरण चलेको छ । वस्तु विनिमयको लगभग अन्त्य भइसकेको छ । गाईभैंसी पालनको सट्टामा कुखुरा, हाँस र बाख्रापालनको अभ्यास बढिरहेको छ । बृद्धाश्रम बनाउने प्रचलन बढेर गएको छ । नाति, नातिनी, छोरा, बुहारी तथा नातेदारको भेट भर्चुअल संसारमा ब्यापक बन्दै गएको छ ।

पाहुना बोलाएपछि घरमा भन्दा पनि होटलमा बसाउने र घरायसी भेटघाट पनि होटलमा हुने गरेको छ । तीजको दर माइती घरमा खाने नभएर होटल, रिसोर्ट र ब्याङ्क्वेटमा खान थालिएको नयाँ परम्परा नै बनिसकेको छ ।

बाजेबज्यै बृद्धश्रममा, बाबुआमा घरमा, छोछोरी विदेशमा, नातिनतिना होस्टेल र बोर्डसमा हुने भएपछि नेपाली परिवार पुरानोको विघटन र नयाँको निर्माणको सङ्घारमा छ ।