• श्रावण ११ २०८३, सोमबार

सुनसरी घटनामा साम्प्रदायिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति

श्रावण ११ २०८३, सोमबार

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनाव नियन्त्रण गर्न र साम्प्रदायिक भड्काव रोक्न सर्वपक्षीय बैठकले विशेष पहल गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेले सो क्षेत्रको सुरक्षा स्थिति हाल पूर्ण नियन्त्रणमा रहेको जानकारी दिए । थेबेका अनुसार सोमबारको सर्वपक्षीय बैठकमा सहभागी सबै राजनीतिक दल तथा सरोकारवालाहरूले आ–आफ्नो ठाउँबाट साम्प्रदायिक हिंसा र तनाव रोकथामका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए ।

‘बैठकले सबैले आफ्नो ठाउँबाट यो साम्प्रदायिक भड्किने खालका कुराहरूलाई नियन्त्रण गर्न, रोकथाम गर्न अहिलेबाट आफ्नो पक्षबाट लागि पर्ने भन्ने निर्णय भएको छ,’ थेबेले भने ।

जिल्ला सुरक्षा समितिको निरन्तर बैठक बसिरहेको र समग्र जिल्लाको सुरक्षा व्यवस्था ‘कमान्ड र कन्ट्रोल’ भित्रै रहेको उनले बताए । ‘जिल्ला सुरक्षा समितिको बैठक त बसिराछ, कमान्ड कन्ट्रोलमै छ । देवानगञ्ज र कप्तानगञ्जको अवस्था ठीक छ, नर्मल नै छ । अलिअलि हाइवेमा लौकी, भोक्राहातिर चाहिँ बन्द गरिराख्या छन्, सडक जाम छ, त्यही छ,’ थेबेले भने ।

देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रको अवस्था नियन्त्रणमा भए पनि लौकी र भोक्राहा क्षेत्रका केही स्थानमा सानातिना समूह भेला भई राजमार्ग अवरुद्ध गर्ने प्रयास भइरहेको प्रहरी प्रमुख थेबेले बताए ।

आज कुनै नयाँ अप्रिय घटना वा थप मानवीय क्षति नभएको र स्थिति सामान्य बनाउन प्रहरी टोली परिचालन गरिएको छ । घटनामा हालसम्म एक जनाको मात्रै मृत्यु भएको र थप अप्रिय विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।