• श्रावण १० २०८३, आईतवार

प्रश्नपत्र चुहावट प्रकरण : केन्द्रीय क्याम्पस स्ववियूद्वारा त्रिविका डिनकाे राजीनामा माग

श्रावण १० २०८३, आईतवार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले व्यवस्थापन संकाय डीन र परीक्षा हेर्ने सहायक डीनको राजीनामा माग गरेको छ ।

नैतिक जिम्मेवारी लिई राजीनामाको माग गरिएको त्रिवि स्ववियू सभापति दीपकराज जोशीले जानकारी दिए ।

जोशीले भने– ‘परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमा माथि कसैले सम्झौता गर्नुहुँदैन । यो गम्भीर विषय हो । डिन कार्यालय नै दोषी भएर उसले आफैले समिति बनाएर छानबिन हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिँदैन । विश्वसनीयतामाथि प्रश्न खडा भएको छ । नैतिकताका आधारमा सम्बन्धित निकायका अधिकारीले राजीनामा दिनैपर्छ ।’  दुई दिनभित्र दोषीलाई कारबाहीको माग स्ववियूको छ ।

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा सञ्चालन समितिले समिति बनाएको थियो । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डिनको कार्यालयले मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षाकै समयमा बाहिरिएको घटनाको छानबिन गर्न आइतबार बिहान एक समिति गठन गरेको छ ।

छानबिन समितिको संयोजकमा त्रिवि केन्द्रीय विभागका प्रा.डा.अच्युत ज्ञवाली रहेका छन् । यस्तै, सदस्यहरूमा केन्द्रीय अनुगमन निर्देशनालयका उपनिर्देशक पुष्कर रैखला र केन्द्रीय परीक्षा समितिका सदस्य महेशराज ओझा रहेका छन् ।

समितिलाई सात दिन समय दिइएको त्रिवि व्यवस्थापन संकायका सहायक डिन डा. भरत राईले  जानकारी दिए ।