काठमाडौं । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन औपचारिक रूपमा सकिएको घोषणा गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा ककरोच जनता पार्टीले भारत सरकार आफ्ना सबै प्रमुख माग सम्बोधन गर्न सहमत भएकाले आन्दोलन अन्त्य गर्ने निर्णय गरिएको जनाएको छ ।
सरकारले ‘नीट’ परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणपछि आत्महत्या गरेका परीक्षार्थीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको ककरोच जनता पार्टीले उल्लेख गरेको छ ।
यस्तै, केन्द्र सरकार तथा एनडीए शासित राज्यमा प्रदर्शनकारीमाथि दर्ता गरिएका सबै मुद्दा फिर्ता लिइने सहमति भएको पार्टीले जनाएको छ । परीक्षा प्रणाली सुधारसम्बन्धी ककरोच जनता पार्टीले बुझाएको मागपत्रमाथि पनि सरकार छलफल गर्न तयार भएको जनाइएको छ ।
आन्दोलनको मुख्य मागका रूपमा रहेको केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिइसकेका छन् । दिल्ली जन्तर–मन्तरमा धर्ना दिइरहेका हजारौँ विद्यार्थी तथा ककरोच जनता पार्टीले प्रधानको राजीनामा बिना आन्दोलन अन्त्य नगर्ने अडान लिएका थिए । आन्दोलन चर्कंदै जाँदा सरकारमाथि पनि उल्लेखनीय राजनीतिक दबाब परेको थियो ।
प्रधानले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “जन्तर–मन्तर र देशभर सिर्जना भएको परिस्थितिको राष्ट्रविरोधी शक्तिहरूले दुरुपयोग नगरून्, देशको एकता कायम रहोस्, कुनै पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नअल्झियोस् र हाम्रा युवाले आफ्नो समय अध्ययन तथा भविष्य निर्माणमा केन्द्रित गर्न सकून् भन्ने उद्देश्यले मैले सम्माननीय प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा बुझाएको छु ।”
उनले पछिल्ला १० दिनका घटनाक्रमले आफूलाई निकै दुःखी बनाएको र यो विषय आफ्नो व्यक्तिगत प्रतिष्ठाभन्दा माथिको रहेको पनि उल्लेख गरेका छन् ।
राजीनामापछि ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले जन्तर–मन्तरमा उपस्थित प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने, “हामीले गरेर देखायौँ । धर्मेन्द्र प्रधानले राजीनामा दिनुभएको छ ।” उनको भनाइसँगै आन्दोलनस्थलमा उपस्थित प्रदर्शनकारीले उत्सव मनाएका थिए ।
भारतीय जनता पार्टी नेतृत्वको वर्तमान सरकारको कार्यकालमा कुनै केन्द्रीय मन्त्रीले आन्दोलनको दबाबपछि राजीनामा दिएको यो पहिलो घटना भएको जनाइएको छ ।
यसैबीच, २६ दिनसम्म अनशन बसेका सामाजिक अभियन्ता सोनम वाङचुकले पनि प्रधानको राजीनामालाई लोकतन्त्रको जित भन्दै ककरोच जनता पार्टी र आन्दोलनमा सहभागी सम्पूर्ण युवा प्रदर्शनकारीलाई बधाई दिएका छन् ।