• श्रावण ८ २०८३, शुक्रबार

फेरि प्रदेशमा सरकार बनाउने झमेला आइलाग्यो : प्रचण्ड

श्रावण ८ २०८३, शुक्रबार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको आवश्यकता सरकार बनाउनु नरहेको स्पष्ट पारेका छन्।

शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौँमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। बजेट निर्माणका क्रममा प्रदेश सरकारहरूमा कांग्रेस र एमालेबिच रडाको मच्चिएका कारण नेकपामाथि बाध्यता आइलागेको उनले बताए।

२०८४ सालको प्रदेश र स्थानीय तहको निर्वाचनपछि मात्रै नेकपाले सरकार बनाउनेबारे सोच्ने भन्दै उनले कांग्रेस–एमालेलाई नै सरकार सञ्चालन गरिरहन आग्रह गरे। विगतमा अन्य दलहरूसँग सहकार्य गर्दैमा वर्षौँ बितेको र नागरिक पनि त्यसै कुरामा भ्रमित भएको उनको टिप्पणी छ। साझा न्यूनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने कुरा नेकपाको प्राथमिकतामा रहेको उनले बताए l

कार्यक्रममा बोल्दै दाहालले भने, ‘हामीले कहिले कांग्रेससँग सहकार्य, कहिले एमालेसँग, कहिले मधेसीसँग भन्दाभन्दै हाम्रा दिनहरू त्यसैमा बिते। जनता भ्रमित पनि त्यसैमा भए।’

अहिले सरकार मुख्य कुरा नरहेको उल्लेख गर्दै उनले थपे, ‘हाम्रो लागि साझा न्यूनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने कुरा मुख्य हो। त्यसकारण हाम्रो ध्यान सरकारतिर छैन।’