कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नयाँ स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि २३ करोड रुपैयाँ विनियोजन गरेको छ। स्वास्थ्य क्षेत्रको विकास र गुणस्तरीय सेवा विस्तार राज्यको महत्वपूर्ण दायित्व हो।
तर,सीमित स्रोत र साधन भएको कर्णाली प्रदेशका लागि कुन क्षेत्रमा कस्तो लगानी गर्ने भन्ने प्रश्न केवल बजेट विनियोजनको विषय मात्र होइन, प्रदेशको दीर्घकालीन विकासको दिशा निर्धारणसँग पनि जोडिएको विषय हो।
कर्णालीमा पहिले नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,जुम्ला सञ्चालनमा छ।दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा,चिकित्सा शिक्षा तथा अनुसन्धानको क्षेत्रमा यस संस्थाले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यद्यपि यस संस्थाले अपेक्षित स्रोत, जनशक्ति, पूर्वाधार तथा विशेषज्ञ सेवाको अभाव झेलिरहेको वास्तविकता पनि कसैबाट लुकेको छैन।
यस्तो अवस्थामा विद्यमान संस्थालाई थप सक्षम र प्रभावकारी बनाउनुको सट्टा अर्को स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि २३ करोड रुपैयाँ छुट्याउनु कत्तिको आवश्यक र औचित्यपूर्ण छ भन्ने विषयमा गम्भीर बहस हुन आवश्यक देखिन्छ।
कर्णाली प्रदेशको आर्थिक अवस्था अन्य प्रदेशको तुलनामा कमजोर छ। यहाँ बेरोजगारी, गरिबी,कृषि उत्पादनको न्यून स्तर, औद्योगिक विकासको अभाव,दुर्गम बस्तीहरूमा आधारभूत स्वास्थ्य सेवाको अपर्याप्त पहुँच तथा पूर्वाधारको कमजोरी जस्ता चुनौतीहरू विद्यमान छन्।
कतिपय स्थानीय तहमा अझै पनि विशेषज्ञ चिकित्सकको अभाव छ भने धेरै स्वास्थ्य संस्थाहरूमा आवश्यक उपकरण, औषधि तथा दक्ष जनशक्तिको कमी देखिन्छ। यस्तो अवस्थामा नयाँ संरचना थप्ने भन्दा विद्यमान स्वास्थ्य प्रणालीलाई मजबुत बनाउनु बढी व्यावहारिक देखिन्छ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्नु केवल भवन निर्माण वा प्रशासनिक संरचना खडा गर्नु मात्र होइन। त्यसका लागि दीर्घकालीन आर्थिक दायित्व, दक्ष जनशक्ति, प्राविधिक क्षमता, शिक्षण अस्पताल, अनुसन्धान प्रणाली तथा नियमित सञ्चालन खर्च आवश्यक पर्छ।
आज छुट्याइएको २३ करोड रुपैयाँ भविष्यमा सयौं करोडको आर्थिक दायित्वमा रूपान्तरण हुनसक्छ। त्यसैले कुनै पनि नयाँ संस्थागत संरचना निर्माण गर्नुअघि त्यसको आवश्यकता, सम्भाव्यता र दीर्घकालीन प्रभावबारे गहन अध्ययन आवश्यक हुन्छ।
कर्णालीको विशिष्टता आधुनिक चिकित्सा संरचनाको विस्तारमा मात्र सीमित छैन। यो प्रदेश जैविक विविधता, जडीबुटी, प्राकृतिक सम्पदा तथा मौलिक ज्ञान प्रणालीको धनी प्रदेश हो। यहाँ पाइने जटामसी,कुट्की, पाँचऔंले, अत्तिस, सुगन्धवाल, पदमचाल, चिराइतो लगायतका बहुमूल्य जडीबुटीहरूले कर्णालीलाई विश्वस्तरमा परिचित गराउन सक्ने क्षमता राख्छन्। स्थानीय समुदायमा पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको परम्परागत उपचार पद्धति र ज्ञान पनि अमूल्य सम्पत्तिका रूपमा रहेका छन्।
विश्व स्वास्थ्य संगठनले समेत परम्परागत तथा पूरक चिकित्साको महत्वलाई स्वीकार गर्दै विभिन्न मुलुकहरूलाई आफ्ना मौलिक चिकित्सा प्रणालीलाई स्वास्थ्य सेवासँग एकीकृत गर्न प्रोत्साहन गरिरहेको छ। विश्वका धेरै मुलुकहरूले रोग लागेपछि उपचार गर्ने प्रणालीभन्दा रोग लाग्न नदिने, स्वस्थ जीवनशैली विकास गर्ने र समग्र आरोग्यमा आधारित दृष्टिकोणलाई प्राथमिकता दिन थालेका छन्।
नेपालको सन्दर्भमा पनि आयुर्वेद, प्राकृतिक चिकित्सा, योग, ध्यान तथा हिमाली चिकित्सा (सोवा रिग्पा) को महत्व बढ्दै गएको छ। विशेषगरी कर्णाली जस्तो प्राकृतिक सम्पदाले सम्पन्न प्रदेशमा यी क्षेत्रहरूलाई वैज्ञानिक अनुसन्धान, शिक्षा, उपचार र पर्यटनसँग जोडेर विकास गर्न सकिन्छ।
यसले राज्यलाई अपेक्षाकृत कम आर्थिक भार पार्नुका साथै स्थानीय स्रोत र सीपको उपयोग गर्दै रोजगारी सिर्जना, उद्यम विकास तथा आर्थिक समृद्धिमा समेत योगदान पुर्याउन सक्छ।
चीनले परम्परागत चिनियाँ चिकित्सा, भारतले आयुर्वेद तथा योग, तिब्बती समुदायले सोवा रिग्पा र विभिन्न युरोपेली मुलुकहरूले प्राकृतिक चिकित्सालाई आधुनिक स्वास्थ्य प्रणालीसँग समन्वय गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्।नेपालले पनि आफ्नो मौलिक ज्ञान प्रणालीलाई आधुनिक विज्ञानसँग जोड्दै अघि बढ्न सक्नुपर्छ। अझ कर्णाली प्रदेश यसका लागि सबैभन्दा उपयुक्त भूमि हुन सक्छ।
यदि सरकारले नयाँ स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि विनियोजन गरेको २३ करोड रुपैयाँको केही हिस्सा आयुर्वेद, प्राकृतिक चिकित्सा, सोवा रिग्पा,जडीबुटी अनुसन्धान,आरोग्य केन्द्र स्थापना, समुदायमा आधारित स्वास्थ्य प्रवर्द्धन कार्यक्रम तथा जडीबुटी प्रशोधन उद्योगको विकासमा लगानी गर्ने हो भने त्यसले बहुआयामिक लाभ दिन सक्छ। यसले स्वास्थ्य क्षेत्रमा मात्र होइन, कृषि, पर्यटन, उद्योग र रोजगारीमा समेत सकारात्मक प्रभाव पार्न सक्छ।
कर्णालीलाई केवल अस्पताल र उपचार केन्द्रहरूको प्रदेशका रूपमा मात्र होइन, आरोग्य, अनुसन्धान र प्राकृतिक चिकित्सा प्रणालीको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने सम्भावना अत्यन्त प्रबल छ।
योग, ध्यान, जैविक कृषि, जडीबुटी, प्राकृतिक उपचार तथा आरोग्य पर्यटनलाई एकीकृत गर्दै नयाँ विकास मोडेल निर्माण गर्न सकिन्छ। यसले कर्णालीलाई विशिष्ट पहिचान दिनुका साथै दिगो आर्थिक विकासको आधार पनि तयार गर्न सक्छ।
सरकारको उद्देश्य जनताको स्वास्थ्यमा सुधार ल्याउनु नै हो। तर स्वास्थ्य सुधारको बाटो केवल नयाँ संस्थागत संरचना थप्नुमा मात्र सीमित हुँदैन। कहिलेकाहीँ नयाँ संरचना निर्माणभन्दा विद्यमान संस्थाको सुदृढीकरण, समुदायमा आधारित स्वास्थ्य प्रवर्द्धन तथा स्थानीय स्रोत र ज्ञानमा आधारित कम खर्चिला विकल्पहरू अझ प्रभावकारी हुन सक्छन्।
यसैले,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला सञ्चालनमा रहँदाहुँदै अर्को स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि २३ करोड रुपैयाँ विनियोजन गर्नु भन्दा विद्यमान प्रतिष्ठानलाई थप सबल बनाउने, आयुर्वेद, प्राकृतिक चिकित्सा, परम्परागत चिकित्सा तथा हिमाली चिकित्सा (सोवा रिग्पा) लाई प्राथमिकतामा राख्ने र कर्णालीलाई आरोग्य तथा जडीबुटीको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने नीति नै दीर्घकालीन रूपमा बढी दूरदर्शी, मितव्ययी र कर्णालीको मौलिकता अनुरूपको कदम हुन सक्छ।
कर्णालीलाई अर्को प्रतिष्ठान होइन, आफ्नो प्राकृतिक सम्पदा, स्थानीय ज्ञान र आरोग्य दर्शनमा आधारित विकासको नयाँ मोडेल आवश्यक छ। यही बाटोले कर्णालीलाई समृद्धि, स्वस्थ जीवन र विश्वस्तरीय पहिचानतर्फ डोर्याउन सक्छ॥