• श्रावण १६ २०८३, शनिबार

प्रख्यात पर्वतारोही निर्मल पुर्जाको निधन भएकाे पुष्टि

श्रावण १६ २०८३, शनिबार

काठमाडौं । नेपाली प्रख्यात पर्वतारोही तथा बेलायती विशेष सैन्यबलका पूर्वसदस्य निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको ब्रोड पिक हिमालमा खसेको हिमपहिरोमा परी उनको निधन भएको हो । उनी ४३ वर्षका थिए ।

उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै अर्थात् १४ हिमाल केवल ६ महिनाभित्र आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । उनको कम्पनी एलाइट एक्स्पेडिसनले पुर्जाको निधन भएको शनिबार (साउन १६) पुष्टि गरेको छ ।

उक्त कम्पनीले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अत्यन्तै गहिरो दुःख र स्तब्धताका साथ हामी पुष्टि गर्दछौँ कि निर्मल ‘निम्स दाइ’ पुर्जाले ब्रोड पिकमा गएको दुःखद हिमपहिरोपछि आफ्नो ज्यान गुमाएका छन् । हामीले यो पनि पुष्टि गरेका छौँ कि उक्त आरोहण टोलीका अरू सदस्यहरू पनि दुर्भाग्यवश जीवित रहन सकेनन् ।”

पुर्जा यही जुलाई ३० मा एक आरोहण टोलीसँग पाकिस्तानको आठ हजार ४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा रहेका बेला हिमपहिरोमा परेका थिए ।

कम्पनीले पुर्जाका भरपर्दा आरोहण साझेदार तथा गाइड पुरबहादुर गुरुङ ‘युक्ता’ र निमा शेर्पाको पनि निधन भएको पुष्टि गरेको छ । इन्स्टाग्राममा पोस्ट गरिएको विज्ञप्तिमा भनिएको छ, “आज हामी केवल निम्सको मात्र होइन, उहाँका भरपर्दा आरोहण साझेदार तथा गाइडहरू पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पासहित यस दुःखद घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छौँ । हाम्रा गहिरा समवेदना, प्रार्थना र हार्दिक श्रद्धाञ्जली उहाँहरूका परिवार, आफन्त र प्रियजनहरूप्रति व्यक्त गर्दछौँ ।”

विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा अन्तर्राष्ट्रिय आरोहण टोली हिमपहिरोमा परेको थियो । त्यसपछिका दिनहरूमा प्रतिकूल मौसमका कारण हेलिकोप्टर र पैदल उद्धार टोलीले प्रभावकारी रूपमा खोजी गर्न सकेको थिएन ।