• जेष्ठ २ २०८३, शनिबार

नेतृत्वकाे अहंकारका कारण कांग्रेस विभाजनकाे डिलमा पुग्याे : खड्का

जेष्ठ २ २०८३, शनिबार

सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको दिशामा गइरहेको बताएका छन् ।

शनिबार कांग्रेस कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको ‘कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै खड्काले यस्तो बताएका हुन् ।

उनले अहिले पार्टीभित्रको विषयलाई लिए सानेपामा रहेको केन्द्रीय कार्यालय र बाहिर रहेका आम कार्यकर्ताबिच ठुलो खाडल देखिएको बताए।

‘सानेपामा भएको कांग्रेस र बाहिर रहेको कांग्रेसलाई एक ठाउँमा नपुर्‍याउने हो भने पार्टी विसर्जनको दिशामा जाँदैछ,’ उनले वर्तमान नेतृत्वतर्फ सङ्केत गर्दै भने, ‘देशी–विदेशी षड्यन्त्रमार्फत कांग्रेसलाई विभाजनको बाटोतिर लैजाने प्रयास भइरहेको छ ।’

साथै, खड्काले वर्तमान पार्टी नेतृत्वभित्र अहङ्कार मौलाएको आरोप लगाए । ‘व्यक्तिगत अहङ्कार र स्वार्थले सङ्गठनलाई क्षति पुर्‍याएको छ,’ उनको दाबी छ, ‘ नेताहरूले आफ्ना व्यक्तिगत आडम्बर, पारिवारिक स्वार्थ, धनको मोह र नातागोताको सम्बन्धभन्दा माथि उठेर कार्यकर्तामाझ जानुपर्ने छ ।’
उनका बुझाइमा अहिले पार्टीभित्र कुँडिएका क्रियाशील सदस्यहरूको मनमा गएर, हात जोडेर, गल्ती स्वीकार गर्दै सुध्रिने प्रतिबद्धता जनाउनुको विकल्प छैन । तर, गल्ती स्वीकार गर्नुको साटो वर्तमान नेतृत्वले अहम्ताको बोझ बोकेर एक–अर्कालाई लल्कारिरहेको खड्काले बताए ।

अहिलेका जिम्मेवार पदाधिकारीहरूबाटै एकताभन्दा अनेकता फैलाउने खालका अभिव्यक्ति आइरहेको खड्काको भनाइ छ ।
उनले अगाडि थपे, ‘पार्टीभित्रको यही कमजोरीका कारण मुलुकको राष्ट्रियतामाथि समेत खतराको सङ्केत देखा पर्न थालेको छ ।’पार्टीभित्र अनुशासन र कारबाहीको नाममा वर्तमान नेतृत्वमा कार्यकर्तालाई तर्साउने प्रवृत्ति हाबी भएको भन्दै उनले कडा आलोचना गरे ।

‘भोट नदिएको निहुँमा क्रियाशील सदस्यलाई कारबाही गर्ने वा पार्टीबाट निकाल्ने कुरामा मेरो पूर्ण असहमति छ,’ उनले भने, ‘अनुशासन वा पार्टी कब्जा गर्ने नाममा कार्यकर्तालाई लल्कार्ने उद्देश्य गलत छ ।’

उनले वर्तमान र निवर्तमान सबै नेतृत्वलाई अहङ्कार त्यागेर गाउँ–बस्तीमा पुगी पार्टी पङ्क्तिलाई एकीकृत गर्न आग्रह गरे । पार्टीको आन्तरिक अवस्थाप्रति टिप्पणी गर्दै खड्काले चुनावी परिणाम इतिहासकै कमजोर आएको समयमा नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए।