• बैशाख २० २०८३, आईतवार

हेटौँडामा रोकिराखेको बोलेरो गाडी जमिनमुनि भासिएर बेपत्ता, अझै भेटिएन

बैशाख २० २०८२, शनिबार

२० वैशाख, हेटौँडा । हेटौँडामा शुक्रबार अपराह्न एक्कासि जमिनमुनि भासिएको माछा बोक्ने सिङ्गल क्याप बोलेरो गाडी (भ्यान) बेपत्ता भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरी गाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी (भ्यान) भासिएर जमिनमुनि बेपत्ता भएको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार रोकिराखेको ठाउँमा एक्कासि सडक भासिँदा उक्त भ्यान बेपत्ता भएको हो । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको प्रवक्ता अर्यालले बताए ।गाडीका चालक र सहचालकले भने गाडी भासिनुअघि नै निस्किएर जोगिएका थिए । गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको प्रत्यक्षदर्शीहरुले बताएको प्रवक्ता अर्यालले भने ।

गाडी भासिएको नजिकै माछापालन गरिएको पोखरी र बोरिङ समेत रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । भासिएको गाडी पानीले गर्दा नदेखिएको र पानीलाई निकास दिएर गाडीको खोजी कार्य भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।