काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । यूनेस्कोले संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा एक विशेष वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दै छ । वर्ष २०२५ को मे ३ मा संयुक्त राष्ट्र महासभाले प्रेस स्वतन्त्रताको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको ३२ वर्ष पूरा हुँदै छ ।
हरेक मे ३ तारिखमा मनाइने यस वर्षको दिवसको नारा “Reporting in the Brave New World ” तय भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को मुख्य कार्यक्रम “नयाँ साहसी संसारमा रिपोर्टिङः प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव” भन्ने शीर्षकमा २०२५ मे ७ मा बेल्जियमको ब्रसेल्सस्थित बोजार (Bozar) कला केन्द्रमा आयोजना हुनेछ। यस कार्यक्रममा पत्रकारिता, मिडिया, र मानव अधिकारमा कृत्रिम बुद्धिमत्ता (AI) को गहिरो प्रभावबारे छलफल गरिनेछ।
३ मे ले सरकारहरूलाई प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्नुपर्ने आवश्यकताको स्मारकको रूपमा कार्य गर्दछ र यो दिन प्रेसस्वतन्त्रता र व्यावसायिक नैतिकताका मुद्दाहरूका बारेमा सञ्चारकर्मीहरूबिच प्रतिबिम्बित गर्ने दिन पनि हो।