• जेष्ठ २ २०८३, शनिबार

‘बोरा’माथि बहस

श्रावण २६ २०८१, शनिबार

गण्डकी, २६ साउन । पत्रकार एवं आख्यानकार अखण्ड भण्डारी आज पोखरेली पाठकमाझ प्रस्तुत हुनुभयो । आफ्नो उपन्यास कृति ‘बोरा’माथिको परिचर्चा कार्यक्रममा उहाँले उपन्यास लेखनको अनुभव र रचनागर्भ सुनाउनुभयो ।र् यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित उक्त कार्यक्रममा लेखक भण्डारीले भन्नुभयो, “यो सत्य घटनामा आधारित हाम्रो समाजको प्रतिनिधि कथा हो, विस्तृत खोज अनुसन्धानपछि उपन्यास लेखेको हुँ ।”

आफू पत्रकारसमेत भएकाले उपन्यासका माध्यमबाट समाजका घटना र प्रवृत्तिलाई पर्गेल्न सहज भएको अनुभव उहाँले सुनाउनुभयो ।सामाजिक विकृति तथा विसङ्गित न्यूनीकरणमा उपन्यासले सघाउने उहाँको विश्वास छ । सन्तानबाट अपहेलित भएर बोरामा फालिनुपरेकी आमाको यथार्थ घटनाबाट ‘बोरा’ उपन्यास जन्मिएको लेखक भण्डारीले बताउनुभयो ।

बसहकर्ता उपप्राध्यापक राजिन पनेरुले केही त्रुटी र सीमाका बावजुत भण्डारीको उपन्यास सरल, सहज र बोधगम्य रहेको बताउनुभयो । उहाँले आमाप्रति श्रद्धा गर्ने प्रत्येक सन्तानले पढ्नै पर्ने उपन्यासका रुपमा ‘बोरा’लाई चिनाउनुभयो । “उपन्यासले सृष्टिकी आदिम शक्ति आमाको महिमा संसारमै उच्च र प्रशंसनीय हुन्छ भन्ने दृष्टान्त प्रस्तुत गरेको छ”, समालोचक पनेरुले भन्नुभयो ।

उपन्यासले सामाजिक एवं आदर्शोन्मुख यथार्थवादी धारालाई पछ्याएको उहाँको भनाइ छ । काव्यात्मक र सूक्तिमय संवादले उपन्यासलाई पठनीय र मननीय बनाएको उहाँले बताउनुभयो ।उपन्यासको कथावस्तु राणाकालीन अवशेष, पञ्चायतकाल हुँदै बहुदलीय व्यवस्थापछिका शृङ्खलामा बद्ध रहेको उहाँको भनाइ छ ।

प्रस्तुत घटनासन्दर्भले सामन्ती व्यवस्था नारीमाथिको शोषण तथा दृष्टिकोण र सामाजिक न्यायबारे चर्चा गरेको समालोचक पनेरुले उल्लेख गर्नुभयो । उहाँले उपन्यासका केही घटना र सन्दर्भ अतिशयोक्तिपूर्ण लागेपनि कुशल नाटकीय तारतम्यले त्यसलाई बिर्साइदने बताउनुभयो । अन्नपूर्ण पोष्ट दैनिकका सम्पादकसमेत रहनुभएका भण्डारीको उक्त उपन्यास कृति गत चैतमा सार्वजनिक भएको थियो । ‘बोरा’ उहाँले दोस्रो उपन्यास हो ।

यसअघि उहाँको ‘मलाया एक्प्रेस’ उपन्यास लेख्नुभएको थियो । कार्यक्रममा उपन्यासबारे बौद्धिक पाठकहरुले जिज्ञास तथा सुझाव राखेका थिए । पाठकसँगको संवादमा आख्यानकार भण्डारीले आफ्नो लेखकीय अनुभव बाँड्नुभएको थियो र्। यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले उपन्यासमाथि बौद्धिक मन्थन र विमर्श भएको बताउनुभयो । सोसाइटीले नियमित रुपमा कवि, लेखकहरुका कृतिमाथि परिचर्चा कार्यक्रम आयोजना गर्दै आएको उहाँको भनाइ छ ।