• जेष्ठ २ २०८३, शनिबार

दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामीको चापले अस्पताल भरिभराउ

श्रावण २५ २०८१, शुक्रबार

काठमाडौं । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि यहाँ ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या अधिक बढेको छ ।

असारदेखि हालसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेका अस्पतालका सूचना अधिकारी डा. कमल भण्डारीले जानकारी दिए । उनका अनुसार अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।

‘उपचारमा आउने बिरामीमध्ये अधिकांश ज्वरो र झाडापखालाका छन्’, भण्डारीले भने, ‘अस्पतालमा दैनिक ज्वरो, डेँगी र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन् ।’

डेँगीबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने उनको सुझाव छ । डेँगीका बिरामीमा धेरै टाउँको दुख्ने, बान्ता हुने, पेट दुख्ने, सेतो रगतको मात्रा घट्ने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखापर्ने गर्दछ । ‘सामान्य अवस्था भएमा घरमा आराम गरेर पनि उपचार गराउन सकिन्छ,’ उनले भने ।

डेँगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, जमेको पानी हटाउने, लामा बाउला भएका कपडा लगाउने, झुल लगाएर सुत्ने गर्नुपर्छ । दैनिक १०–१५ बिरामी झाडापखालाका उपचार गर्न आउने गरेका छन् ।