• जेष्ठ २ २०८३, शनिबार

बिना सूचना विद्युत आपूर्ति रोकिएको भन्दै टायर बालेर सडक अवरुद्ध

श्रावण २३ २०८१, बुधबार

काठमाडौं । बिना सूचना विद्युत आपूर्ति बन्द गरी नागरिकलाई सास्ती दिएको भन्दै सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वाका स्थानीय बासिन्दाले पूर्व -पश्चिम सडकको चोहर्वा खण्डमा मंगलबार राती टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले बिना सूचना चार दिनअघि काटेको विद्युत सुचारु गर्न पटकपटक आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै स्थानीयले राती ८ बजेदेखि एक घण्टा टायर बालेर सडक अवरुद्ध गरेका हुन् ।

गोलबजार ७, ८ र १० लगायतका बस्तीहरुमा पछिल्लो चार दिनदेखि विद्युत अवरुद्ध हुँदा पनि प्राधिकरणका कर्मचारीहरुले बेवास्ता गरेपछि बाध्य भएर चक्काजाम गर्नु परेको स्थानीय किशोरी यादवले बताए ।

‘बस्तीहरुमा विद्युत आपूर्ति बन्द भएपछि गोलबजार र मिर्चैया शाखाका कर्मचारी र प्रमुखलाई पटक–पटक जानकारी गरायौं तर वास्ता नै गरेनन्’, उनले भने ‘गर्मी र वर्षाको समयमा साहै्र कष्ट भएपछि दवाब दिन चक्काजाम गरिएको हो ।’

बिना सूचना विद्युत अवरुद्ध हुँदा दैनिकी कष्टकर भएको स्थानीय सुरेश मण्डलले बताए । ‘विद्युत नहुँदा मानिसहरु रातभर जाग्राम बस्नु परेको छ, मोटरबाट पानी तान्न नसकिएपछि नुहाउनसमेत पाएका छैनौं’ उनले भने ।

उनका अनुसार रोकिएको विद्युत आपूर्ति सुचारु गर्न प्राधिकरणसँग समन्वय गरी पहल गर्ने गोलबजार प्रहरीको प्रतिबद्धतापछि अवरुद्ध सडक खोलिएको हो ।