• जेष्ठ ३ २०८३, आईतवार

४ प्रदेशका ३४ जिल्ला बाढीपहिरोको उच्च जोखिममा

असार १६ २०८१, आईतवार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी चार दिन मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको छ । आइतबार साँझ एक विशेष बुलेटिनमार्फत् महाशाखाले मनसुन थप सक्रिय हुने भएकाले आगामी बिहीबारसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार सोमबारदेखि बिहीबारसम्म देशभर साधारणदेखि पूणर् बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेस, कणर्ाली र सुदूरपश्चिम प्रदेशका एक‍-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

साथै, कोसी, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले कोसीका १३, वाग्मतीका चार, गण्डकीका आठ र लुम्बिनीका ९ गरी कुल ३४ जिल्लालाई वर्षाको उच्च जोखिममा राखेको छ ।

महाशाखाले सोमबारदेखि बिहीबारसम्म भू-क्षय, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यसैगरी, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।