• जेष्ठ ३ २०८३, आईतवार

जावलाखेलमा बेहोस भेटिएका श्रीमान–श्रीमतीको मृत्यु, नजिकै भेटियो झोलिलो पदार्थको बोतल

असार १ २०८१, शनिबार

काठमाडौं । जावलाखेलमा बेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ । उनहरूको हिजो राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई हाल ललितपुरको जावलाखेल बस्दै आएका २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती २५ वर्षकै रेणु सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए ।

‘बेहोस अवस्थामा फेला परेका उनीहरूलाई उपचारका लागि पाटन अस्पताल पुर्याइएको थियो । त्यहीँ उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका हुन,’ एसपी सुवेदीले भने, ‘अहिले पोस्टमार्टमका लागि शव शिक्षण अस्पतालमा राखिएको छ । ’

उमेश र रेणु बेहोस रहेको अवस्थामा कोठामा पुग्दा उनीहरू नजिकै झोलिलो पदार्थ रहेको बोतल भेटिएको एसपी सुवेदीले जानकारी दिए । ‘मृत्यु शंकास्पद देखिँदैन । तर नजिकै झोलिलो पदार्थ भएको बोतल भेटिएको छ, ’ उनले भने, ‘त्यो केको बोतल हो पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुनेछ । ’

उमेश र रेणुले विवाह गरेको ११ वर्ष भएको बताइएको छ । उनीहरूबारे थप जानकारी आउन बाँकी छ ।