काठमाडौं । दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–४ का गोरखलाल खड्काको मृत्यु भएको छ ।भारतको लखनउमा उपचारका क्रममा २४ वर्षीय खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । तर, त्यहाँबाट पनि खड्का लागि उपचारका लागि भारत रेफर गरिएको थियो ।
खड्कालाई मंगलबार राति घर नजिकै बसिरहेका बेला युवाको समूहले ढाडमा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारमा संलग्न भएको आरोपमा सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वर्षीय झक्कु वली र २२ वर्षीय विकाश पुनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।