काठमाडौं । ताप्लेजुङमा बाढी आउँदा एउटा काठे पुल बगाएको छ । बिहीबार बिहान साढे ६ बजे फक्ताङलुङ गाउँपालिका –५ तापेथोकस्थित शिसवा खोलाले काठे पुल बगाएको गाउँपालिकाका सूचना अधिकारी जयप्रसाद रिजालले जानकारी दिए ।
उनका अनुसार सवारीसाधन समेत गुड्ने गरेको उक्त काठे पुल बाढीले बगाएको हो । गएरातिदेखि परेको वर्षका कारण खोलाको बहाव बढेको थियो । पानी रोकिसकेको भएपनि बिहानपख खोलामा लेदोसहित आएको बाढीले पुल बगाएको हो ।
यस बाढीले कुनै मानवीय क्षति भने भएको छैन । नेपालमा जेठ २८ गतेदेखि मनसुन सुरू भएको छ । मनसुन भित्रिएसँगै पूर्वी क्षेत्रमा पानी पर्न थालेको हो । ताप्लेजुङमा पछिल्लो २४ घण्टामा १४.६ मिलिमिटर पानी परेको छ ।