• जेष्ठ ३ २०८३, आईतवार

गृहको ‘एक्सन रुम’, फोन-इमेल-हटलाइन सेवा-सामाजिक सञ्जालबाट सुरक्षादेखि गुनासो सुनुवाइसम्म हुने

जेष्ठ ३० २०८१, बुधबार

काठमाडौँ । नागरिक सरोकारका विषय र गुनासोहरूलाई द्रुत र प्रभावकारी रूपमा सम्बोधन गर्न गृह मन्त्रालयले शीघ्र गुनासो सुनुवाइ तथा कार्य सञ्चालन कक्ष (र्‍यापिड रेस्पोन्स एन्ड एक्सन रुम) सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयमा हाल सञ्चालनमा रहेको गुनासो व्यवस्थापन शाखा, सूचना विश्लेषण शाखा तथा नियन्त्रण कक्षलाई एकीकृत स्वरूपमा स्तरोन्नति गरी गुनासोहरूको तत्काल सम्बोधन गर्ने संयन्त्रको रूपमा शीघ्र गुनासो सुनुवाइ तथा कार्य सञ्चालन कक्ष स्थापना गरिएको हो । यस कक्षबाट शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह तथा कानुन कार्यान्वयनका विषयमा नागरिकहरूले सामना गर्नु परेका अवरोध, गुनासो, पिरमर्काको तत्काल सम्बोधन हुने मन्त्रालयले जनाएको छ ।

संवेदनशील सूचनाको सङ्कलन, अध्ययन, विश्लेषण तथा वर्गीकरण गरी गुनासो फर्छ्यौट गर्न सम्बद्ध निकायहरूलाई निरन्तर सहयोग गरी अपराध नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने कार्यमा केन्द्रीय स्तरको समन्वय तथा नियन्त्रण कक्षको रूपमा कार्य गर्नु एक्सन रुमको लक्ष रहेको मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए । एक्सन रुममा प्राप्त हुने सूचना, गुनासो, तथा उजुरीको शीघ्र माध्यमबाट फर्छ्यौट गरी सार्वजनिक तथा निजी संस्थाहरू, पदाधिकारी र राष्ट्रसेवकहरू प्रति नागरिकको विश्वास र भरोसा अभिवृद्धि गर्ने लक्ष्य रहेको उनको भनाई छ ।

शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाहलगायत राष्ट्रिय हित र नागरिक सरोकारका जुनसुकै प्रकृतिका गुनासोलाई सम्बोधन गर्ने शीघ्र उत्तरदायी संयन्त्रको रूपमा एक्सन रुम रहने छ । यसैगरी गृह प्रशासन तथा अन्य निकायसँग आवश्यक समन्वय गरी गुनासोको समयमै र प्रभावकारी समाधान सुनिश्चित गर्ने र अपराधका घटनाहरू न्यूनीकरणका लागि गृह मन्त्रालयको निगरानी तथा नियन्त्रण एकाइको रूपमा कार्य गर्ने उद्देश्यसहित एक्सन रुमको स्थापन भएको सूचना अधिकारी एकदेव अधिकारीले बताए । ‘यसले सार्वजनिक तथा निजी संस्थाहरू, पदाधिकारी र कर्मचारीलाई नागरिक सरोकारका मुद्दामा थप जबाफदेही, पारदर्शी र नतिजामुखी बनाउने छ’ अधिकारीले भने ।

एक्सन रुमका मुख्य कार्यहरू:

एक्सन रुमले सूचना सङ्कलन गर्ने छ । फोन कल, इमेल, हटलाइन सेवा, टोल फ्रि नम्बरहरू, सामाजिक सञ्जाल, हुलाक साथै कार्यालयमा आई नागरिकले जानकारी गराएका र मातहतका संयन्त्र तथा अन्य निकायबाट आएका गुनासो, निवेदन र सूचना प्राप्त गर्ने र त्यसको व्यवस्थित अभिलेखीकरण गर्ने कार्य कक्षबाट हुने छ ।

‘प्राप्त सूचना तथा गुनासाको अध्ययन, विश्लेषण तथा तुलना गर्ने, तथ्य प्रमाणको मूल्याङ्कन परीक्षण गरी वर्गीकरण गर्ने काम कक्षले गर्ने छ’ अधिकारी भन्छन् ‘गुनासो तथा सूचनाको प्रकृति एवं गम्भीरताका आधारमा सामान्य, जरुरी र थप अध्ययन गर्नुपर्ने विषय छुट्याई तत्काल सम्बोधन गर्नुपर्ने, अन्तर निकाय समन्वय गर्नुपर्ने वा अन्य आवश्यक कार्य वा रणनीतिको विषयमा निर्णय लिई कार्यान्वयन गर्ने गराउने काम पनि कक्षले गर्ने छ ।’

आवेदक वा नागरिकलाई प्रगति जानकारी गराउनुपर्ने विषय भए सूचना प्रविधिको उपयुक्त प्रणाली मार्फत नागरिक आफैले सो को ट्र्याकिङ गर्न सक्ने व्यवस्था कक्षले मिलाउने छ । सन्दिग्ध व्यक्ति, संस्था, समूह र गतिविधि वा अपराध हुने जोखिम क्षेत्रको नक्साङ्कन गर्ने, नियामक र अनुसन्धान गर्ने निकायहरूलाई सहयोग पुग्ने गरी प्रमाणहरू सङ्कलन गरी कानुनी कारवाहीको लागि सम्बद्ध निकायमा पठाउने जिम्मेवारी पनि कक्षको रहने मन्त्रालयले जनाएको छ ।

यसैगरी अभिलेख, अनुसन्धान तथा प्रकाशन सम्बन्धी कार्य पनि कक्षले गर्ने छ । मुलुकभरी घटेका सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी घटनाहरूको संक्षिप्त दैनिक विवरण तयार गरी अभिलेखका लागि सुरक्षित राखिने छ ।

सुरक्षा व्यवस्थापन तथा अपराध नियन्त्रणसँग सम्बन्धित समसामयिक घटना तथा प्रवृत्तिका विषयमा विज्ञ वा विज्ञ समूहसँग अन्तरक्रिया, बहस, छलफल गराउने अपराध नियन्त्रण तथा सुरक्षा व्यवस्थापनको सुधारका लागि उपयुक्त रणनीति, योजना, कार्यक्रम सिफारिस गर्नु, सोधकार्यहरुको प्रकाशन गर्ने लगायतका कार्यहरू समेत यस एकाइको जिम्मेवारीमा हुने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयको उद्देश्य प्राप्तिको लागि राष्ट्रसेवक कर्मचारीहरूले समस्या समाधानको लागि देखाउने तत्परता, आचरण, व्यवहार, जबाफदेहिता एवं समग्र कार्य दक्षताको नियमित परीक्षण गर्न यस एकाइले वस्तुगत सूचकहरूको आधारमा मापदण्ड निर्माण गरी सूचना प्राप्त गर्ने, तथ्य जाँच गर्ने, अनुगमन, निरीक्षण गर्ने र निर्णयकर्तालाई पृष्ठपोषण उपलब्ध गराउनेछ ।