• जेष्ठ ३ २०८३, आईतवार

नेपाल भित्रियो मनसुन, बढ्यो पानी पर्ने सम्भावना

जेष्ठ २८ २०८१, सोमबार

काठमाडाै‌ ।  नेपालमा मनसुन भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै नेपालमा मनसुन भित्रिएको जानकारी गराएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशका भूभागहरूमा मनसुनको प्रभाव छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार कोशी प्रदेशको पूर्वी भूभागहरुमा मनसुनको प्रभाव देखिएको हो ।

‘हामीले तीन दिन अवलोकन गर्दा क्राइटेरिया पूरा भएपछि मनसुन आएको घोषणा गरेका हौं,’ उनले भने । तर कोशी प्रदेशको पनि सम्पूर्ण भूभागहरूमा मनसुनले कभर नगरेको उनले बताए ।

‘अहिले सुदूरपूर्वी भूभागहरू मनसुनको प्रभाव छ,’ उनले भने । सामान्यतया नेपालमा मनसुन भित्रने दिन जुन १३ मानिन्छ । यसपालि केही चाँडो मनसुन भित्रने भनिएको थियो । पूर्वी भूभागहरूबाट मनसुन भित्रिएपनि पश्चिमी भूभागमा अत्यधिक गर्मी छ ।

काठमाडौंमै आइतबार र सोमबार अत्यधिक गर्मी छ । पश्चिम तराईका भूभागहरूमा तातो हावा नै चलेको छ । पश्चिम तराईका भूभागहरूमा अझै केही दिन तातो हावा चल्ने सम्भावना रहेको मौसमविद अधिकारीले बताए ।

पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलन कम्तिमा पाँच दिन लाग्छ । तर पश्चिमी भूभागहरूमा अहिलेको मौसम हेर्दा मनसुन देशभर फैलन केही बढी समय लाग्न सक्नेछ । मनसुन अहिले विस्तारै पूर्वबाट पश्चिमी भूभागहरूमा बढ्दै गरेको मौसमविद अधिकारीले बताए ।