काठमाडौं । चुरे संरक्षणको माग गर्दै काठमाडौं आएकाहरूले माइतीघरमा धर्ना दिएका छन् । चुरे आसपासका जनताले पानी नपाएको पीडा सुनाउन उनीहरू रित्ता बाल्टिन् बोकेर सप्तरीबाट हिँड्दै जेठ ९ गते काठमाडौं आइपुगेका थिए ।
त्यही रित्ता बाल्टिन अगाडि राखेर सरकारसँग पानी माग्दै उनीहरूले माइतीघरमा धर्ना दिएका छन् । रित्ता बाल्टिनसँगै नेताहरूको तस्बिरसमेत राखेका छन् । नेताहरूको तस्बिरमाथि ‘लापता’ लेखिएको छ भने तल ‘तपाईं कहाँ, हामी यहाँ’ उल्लेख गरिएको छ ।
चुरे अतिक्रमण र फडानी गर्दा आसपासका जिल्लाहरूमा पानीको मुहान सुकेको र त्यहाँका जनताले पानी पिउन नपाएको ब्यथा काठमाडौंलाई सुनाउन आइपुगे पनि चुरे संरक्षणको नाउँमा ठुल्ठूला भाषण गर्ने नेताहरू नभेटिएको उनीहरूले बताए ।
वन हराभरा हुँदा सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, मोरङका जिल्लाहरूमा पानीको कुनै समस्या थिएन । अहिले त्यहाँका स्थानीयहरूले पिउने पानी समेत अभाव भएको उनीहरू बताउँछन् । गत ९ जेठमा उनीहरू २५ दिन हिँडेर काठमाडौं आइपुगेका थिए ।