तुलसीपुर । दाङको तुलसीपुरमा श्रीमतीको हत्या गरेको आरोपमा नेपाली सेनामा कार्यरत एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली सेनाको ज्वालादल गण बारामा कार्यरत अमलदार शालिकराम बुढाथोकीलाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उनले खुकुरी प्रहार गरी श्रीमती टीका बुढाथोकीको हत्या गरेको आरोप छ । प्रहरीका अनुसार शालिकराम कपुरकोट–६ सल्यानका हुन् ।
उनकी श्रीमती टीका तुलसीपुर–६ डुम्रीगाउँमा बस्थिन् । शान्ति मिसनबाट फर्केर घर बिदामा आएका शालिकरामले श्रीमतीलाई आपत्तिजनक अवस्थामा फेला पारेपछि खुकुरी प्रहार गरेको बताइएको छ ।
शालिकरामले श्रीमतीसँग भेटिएका पुरुषलाई पनि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट घाइते भएकी टीकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अर्का पुरुषको भने अवस्था गम्भीर छ । उनको उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने शालिकरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।