• जेष्ठ ३ २०८३, आईतवार

अरुण तेस्रो जलविद्युत् आयोजनाको आज सुरुङ ब्रेक थ्रु हुँदैछ

जेष्ठ २२ २०८१, मंगलवार

काठमाडाै‍ । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको आज सुरुङ ब्रेक थ्रु हुँदैछ ।
सङ्खुवासभाको मकालु गाउँपालिकाको आम्राङमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले स्विच थिचेर सुरुङको ब्रेक थ्रु गर्ने कार्यक्रम छ । यसको भौतिक प्रगति ७५ प्रतिशत पुगेको बताइएको छ । ११ किमि लामो सुरुङको ब्रेक थ्रु हुन लागेको हो ।

चिचिला गाउँपालिका–३, पुखुवा दोभानमा विद्युतगृह निर्माण भइरहेको छ । सोही स्थानमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । परियोजनामा कुनै अवरोध नभए अबको दुई वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ । चार सय केभी क्षमताको प्रसारण लाइन बन्नेछ ।

परियोजना सम्पन्न भइसकेपछि स्थानीयले शेयर पाउने परियोजना विकास सम्झौता (पीडीए) मा व्यवस्था गरिएको छ । परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्ष भित्र स्थानीयलाई शेयर दिने पीडीएमा उल्लेख गरिएको छ ।

जसअनुसार यस परियोजनाबाट एक सय ६० करोड रुपैयाँ स्थानीयलाई शेयर दिइने छ । शेयर रकममध्ये पहिलो किस्तामा ५० प्रतिशत (८० करोड) र पहिलो उत्पादन वर्ष सकिएपछि र दोस्रो उत्पादन वर्षको अन्त्यअघि बाँकी ५० प्रतिशत शेयर वितरण गरिने जनाइएको छ । शेयर वितरण गर्दा प्रत्यक्ष प्रभावितलाई पहिलो प्राथमिकतामा राखिने पीडीएमा भनिएको छ ।

करिब १ खर्ब ४ अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१.९ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुनेछ भने विभिन्न शीर्षकमा ३ खर्ब ४८ रुपियाँ आर्थिक लाभ मिल्नेछ । विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत् निःशुल्क प्राप्त गर्नेछन । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने पीडीएमा उल्लेख छ ।